करार कर्मचारी हटाएपछी गुराँसमा गोली, सातजना प्रहरीसहित नौजना घाइते

सुर्खेत । गुराँस गाउँपालिका दैलेखले करारका कर्मचारी हटाउने निर्णय गरेपछी कर्मचारीहरु आन्दोलित बनेका छन् । आज आन्दोलन गर्दै कार्यालय पुगेका कर्मचारीलाई प्रहरीले गोली चलाएको छ ।

आन्दोलनरत कर्मचारीले ढुङ्गामुढा गर्दा सातजना प्रहरी घाईते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
कार्यालयका डिएस्पी भुवनेश्वर शाहका अनुसार फोन नलागेको कारण थप विवरण आउन बाँकी रहेको हो ।

गाउँपालिकाले करारका कर्मचारीहरुको म्याद थप गर्ने कुरामा निर्णय नगरेपछि करार कर्मचारीहरु आन्दोलित भएको उनले बताए ।

गुराँस गाउँपालिकामा करिब ४ सय करारका कर्मचारीहरु हुनसक्ने उनले सुनाए ।

यता प्रहरीको गोली लागी आन्दोलनरत गुराँस १ दैलेखका कार्यालय सहायक बखत खत्री सहित दुईजना कर्मचारी समेत घाईते भएका छन् । उनीहरुलाई उपचारका लागि सुर्खेत लगिएको कर्मचारी कर्ण थापाले जानकारी दिए ।