किसानलाई चाँडो मल उपलब्ध गराउन सांसदको माग

काठमाण्डौ । प्रतिनिधि सभाको आज सोमवार बसेको बैठकमा शून्य समयमा बोल्ने सांसदहरूले असार सकिन लाग्दा पनि किसानले रासायनिक मल नपाएको भन्दै चाँडो उपलब्ध गराउन सरकारसमक्ष माग गरेका छन् ।

सांसद विमला विश्वकर्माले किसानले मल, बिउ नपाएर सधैँ आन्दोलन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । सांसद विष्णु शर्माले सरकारले मङ्सिर–पुसमा ठेक्का गर्नुपर्नेमा असारमा गर्दा सधैँ किसानले मल नपाएको बताए ।

सांसद सत्यनारायण शर्मा खनालले अहिले पुरानो बिउ सकिएको र नयाँ बिउ देशभर पुर्‍याउन नसकिएको तथा मनसुन सुरु भएपछि खेत रोप्न मल नभएको बताए । सांसद हितबहादुर तामाङले कृषि उत्पादन बढाउने सरकारको घोषणा भए पनि खेतीको समयमा मल नपाउँदा नारा नारामै सीमित हुने अवस्था आएको बताए र

सांसद सरलाकुमारी यादवले सरकारले आउँदो आर्थिक वर्षमा कृषि क्षेत्रलाई प्राथमिकता दिने भने पनि किसानले महसुस गर्न नसकेको बताए । सांसद शान्तिमाया तामाङ पाख्रिनले किसानले मल तथा विद्यार्थीले पुस्तक नपाएको बताए ।

सांसद सञ्जयकुमार गौतमले बाँके र बर्दियामा कपास विकास समिति विघटन गरेर किसानलाई जग्गा उपलब्ध गराउनुपर्ने माग गरे । सांसद लक्ष्मी परियारले वर्षाको समयमा उदयपुरका धेरै भू–भागलाई कोसी कटानले क्षतविक्षत बनाएकाले जोखिममा परेका नागरिकलाई अल्पकालीन र दीर्घकालीन व्यवस्थापनको कार्यक्रम ल्याउनुपर्ने बताए । सांसद लक्ष्मीकुमारी चौधरीले बलात्कारका घटनामा सत्य–तथ्य बुझेर र पीडितले न्याय पाउनुपर्नेमा जोड दिए ।