आमा–छोरा सहित पाँचजना लागुऔषध कारोबारी पक्राउ

सुर्खेत । सुर्खेतमा आमा–छोरा सहित पाँचजना लागुऔषध कारोबारी पक्राउ परेका छन् । शुक्रबार वीरेन्द्रनगर ५ भेटनरी लाईन सुर्खेतबाट स्थानिय ४० वर्षीय सुमित्रा कामीको घरबाट लागुऔषध सहित उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा सुमित्रा कामीका २३ वर्षीय छोरा रमेश सुनार, वीरेन्द्रनगर नगरपालिका वडा नं ८ का २१ वर्षीय जिवन मर्साङ्गी मगर, वीरेन्द्रनगर ७ का २६ वर्षीय ललित सिंजाली र वीरेन्द्रनगर ३ सुर्खेतका २५ वर्षीय उत्तम शाही रहेका हुन् ।

सुमित्रा कामी र रमेश सुनारको घरकोठाबाट प्लाष्टिक सहित १ सय ग्राम ब्राउनसुगर र ७८ हजार १ सय ९० नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरिक्षक सुरज कार्कीले जानकारी दिए ।

उनका अनुसार अन्य व्यक्तिको साथबाट प्लाष्टिक सहित ८ सय ८० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ र लागुऔषध नापतौल गर्ने प्रयोजनको लागि राखेको डिजिटल तराजु एक थान बरामद गरिएको हो ।

शुक्रबार दिउँसो ४ बजे सुमित्राको घरमा ठुलो मात्रामा लागु औषधको कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रदेश प्रहरी कार्यालय सुर्खेत, लागु औषध ब्युरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

बरामद गरिएको लागुऔषधको खरिद मुल्य दुईलाख पचासहजार हुनसक्ने र विक्रिवितरण मुल्य करिब दशलाख रहेको अनुमान गरिएको कार्कीले बताए ।

उनीहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम सजाय हुने डिएस्पी कार्कीले सुनाए ।