तिब्बतको कुनै पनि मामिलामा नबोल्न भारतलाई चीनको चेतावनी

चीनले तिब्बतको कुनै पनि मामिलामा नबोल्न भारतलाई चेतावनी दिएको छ ।

तिब्बतका धर्म गुरु दलाई लामाको जन्मदिनको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएपछि चीनले धर्मगुरुलाई उचालेर चीनको आन्तरिक मामिलामा नजर नलगाउन चेतावनी दिएको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले पत्रकार सम्मेलनमा तिब्बतको बारेमा बोल्दा भारतले चीनको आन्तरिक मामिला र चीनसँग भएका सम्झौताको स्मरण गर्नुपर्ने बताउनु भएको भारतीय एनडीटीभीले जनाएको छ ।

निर्वासनमा रहेका चीन विरोधी एक धार्मिक र विवादित व्यक्तिलाई भारत र अमेरिकाले उचालेर विवाद बढाउने काम नगर्न चीनले भारत र अमेरिकालाई चेतावनी दिएको खबरमा उल्लेख छ । यसैबीच इन्डोनेसियामा चलिरहेको जी–२० देशहरुको शिखर सम्मेलनको क्रममा भारतीय विदेशमन्त्री एस जयशङ्कर र चिनियाँ विदेशमन्त्री वाङ यी ले झन्डै एक घण्टा वार्ता गर्नुभएको छ ।

भारतीय विदेशमन्त्री जयशङ्करले पूर्वी लद्दाखको वास्तविक सीमा रेखा अर्थात एलएसीमा देखिएको विवाद शीघ्र समाधानका लागि आग्रह गर्नुभएको छ । विवाद समाधान गर्दा द्धिपक्षीय सम्बन्ध, परस्पर सम्मान र संवेदनशीलतालाई ख्याल गर्नुपर्ने जयशङ्करको भनाइ छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले वार्तामा सीमा विवाद समाधानको विषयमा महत्त्वपूर्ण कुराकानी भएको बताउनुभएको छ । भारतीय विदेश मन्त्रालयले पनि सीमामा देखिएका विवाद समाधान गरेर दुई छिमेकी देशबीचको सम्बन्ध थप बलियो बनाउनुपर्ने विषयमा समझदारी भएको बताएको छ ।