मलेसियाले साढे ११ लाख विदेशी कामदार भित्राउने

सुर्खेत । मलेसियाले महत्‍वपूर्ण पाँचवटा आर्थिक क्षेत्र, वृक्षरोपण, कृषि निर्माण, उत्पादन र सेवा उद्योगमा श्रमिक अभाव कम गर्न करिब चार लाख आप्रवासी कामदार ल्याएको जनाइएको छ ।

सरकारले ११ लाख ३६ हजार विदेशी कामदारका लागि कोटा स्वीकृत गरेको भए पनि रोजगारदाताले आर्थिक अभावका कारण चरणबद्धरुपमा कामदार भर्ना गर्नेजस्ता कारणले चार लाखमात्रै ल्याएको गृहमन्त्री सैफुद्दीन नासुशन इस्माइलले बताएको त्यहाँको सञ्चारमाध्यम मलायमेलले जनाएको हो ।

गृहमन्त्री स्माइलले यस वर्षको पहिलो छ महिनामा पाँच लाख १८ हजार कामदारका लागि सरकारले दिएको स्वीकृतिअनुसार नै आप्रवासी कामदारलाई रोजगारी दिन स्थानीय रोजगारदातालाई छुट दिएको र देशमा पहिलेदेखि नै कागजपत्रविहीन कामदारलाईसमेत वैधानिक गराएको बताए ।

गृहमन्त्रीले स्वीकृत कोटा र रिक्यालिब्रेसन कार्यक्रमअन्तर्गत दर्ता भएका संख्यालाई हेर्दा कार्यबलको आवश्यकता पूरा हुने विश्वास व्यक्त गरेको सञ्चारमाध्यमले जनाएको छ । पहिलो त्रैमासिकमा लक्ष्यमा कामदार पु¥याउन नसके पनि दोस्रो त्रैमासमा पुग्ने बताइएको छ ।