नेपाल र क्यानडाबीचको एकदिवसीय सिरिज सर्यो

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली र घरेलु टोली क्यानडाबीचको एकदिवसीय सिरिज एकदिन पछि सरेको छ  । नेपाल र क्यानडाबीचको दुई खेलको एकदिवसीय सिरिज एकदिन पछि सरेको हो ।

अब नेपाल र क्यानडाबीचको खेल जुलाई ५ र ६ (असार २१ र २२) मा हुनेछ । यस अघि दुई टोलीबीचको खेल जुलाई ४ र ५ मा हुने तालिका रहेको थियो ।

नेपाल र स्थानीय ओन्टारियो क्लबबीच टी-ट्वान्टी अभ्यास खेल थपिएकाले सिरिजको खेल एकदिन सरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपालले आज आइतबार राति ओन्टारियोविरुद्ध दोस्रो अभ्यास खेल खेल्नेछ ।

यस अघि नेपालले शुक्रबार राति ओन्टारियोविरुद्ध एकदिवसीय फर्म्याटमा पहिलो अभ्यास खेल खेलेको थियो । पहिलो अभ्यास खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले हराएको थियो।

क्यानडाको भ्रमणपछि नेपालले स्कटल्याण्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ। नेपालले स्कटल्याण्डमा हुने लिग टू अन्तर्गतको सिरिजमा घरेलु टोली र नामिबियासँग खेल्नेछ ।