एनआरटीले पेनाङको सामना गर्दै

काठमाडौं । टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबलको दोस्रो खेलमा नेपालको ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) ले आज शनिबार पेनाङ एफसीसँग प्रतिस्पर्धा गर्दैछ ।

मलेसियाको पेनाङ सिटी रंगशालामा एनआरटीले दोस्रो खेलमा मलेसियन सुपर लिग क्लब पेनाङसँग खेल्नेछ । खेल नेपाली समय अनुसार साँझ ६:३० बजे सुरु हुनेछ ।

बिहीबार भएको खेलमा एनआरटी इन्डोनेसियाको लिग टु क्लब कारो एफसीसँग ५-१ गोल अन्तरले पराजित भएको थियो ।

पेनाङ शहर प्रमुख मिस्टर याङले पद बहाली ग्रहण गरेको पहिलो बार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।

एनआरटीले ए डिभिजन लिगको तयारी स्वरुप ‘प्रि- सिजन’ का लागि प्रतियोगिता खेलेको हो  ।

प्रतियोगिताको विजेताले १० हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछ । उपविजेता टोलीले ५ हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछ ।

मलेसिया भ्रमणपछि एनआरटीले थाईल्याण्डमा ३ मैत्रीपूर्ण खेल खेल्ने छ ।