ओन्टारियोविरुद्ध नेपाल विजयी

काठमाडौं । क्यानाडा भ्रमणमा रहेको नेपालले  अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले हराएको हो ।

नेपालले दिएको २ सय २१ रनको लक्ष्य पछ्याएको ओन्टारियोले ४२ ओभर ५ बलमा अलआउट हुँदै १ सय ५१ रन बनाउन सक्यो । ओन्टारियोका रियाजखान पठानले ३६ रन बनाउँदा कप्तान नरेश बुढाऐरले २९ रन जोडे । यस्तै निकोलस मनोहरले २५ तथा जश शाहले २० रन बनाए ।

नेपालका पवन सरार्फले ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरी, आरिफ शेख र किशोर महतोले २/२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २० रन बनाएको थियो । नेपालका लागि विनोद भण्डारीले ५७ रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै आसिफ शेखले ४२ रन जोड्दा देव खनालले २७ रन बनाए ।  बसिर अहमेदले २४ रन जोड्दा दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले सामान १९ रन जोडे । कुशल भुर्तेलले १३ रन जोडे भने आदील आलम १० रन अविजित रहे ।

ओन्टारियोको शील पटेलले ३ विकेट लिए ।  क्यानडासँगको सिरिज अघि नेपालले अभ्यास खेल खेलेको हो ।  अब नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ ।

नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय जुलाई ४ र दोस्रो एकदिवसीय जुलाई ५ मा हुनेछ । त्यसपछि नेपालले स्कटल्याण्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । नेपालले स्कटल्याण्डमा हुने लिग टू अन्तर्गतको सिरिजमा घरेलु टोली र नामिबियासँग खेल्नेछ ।