नेपालले महिला साफ आयोजनाको प्रस्ताव गर्ने

काठमाडौं । नेपालले महिला साफ च्याम्पियनसिप काठमाडौंमा आयोजना गर्न दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कंग्रेसमा औपचारिक प्रस्ताव गर्ने भएको  छ ।

बंगलादेशको ढाकामा शनिबार हुने साफको कंग्रेसमा नेपालले महिला साफ आयोजनाका लागि औपचारिक प्रस्ताव गर्ने भएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले महासचिव किरण राईले कंग्रेसमा महिला साफ आयोजनाका लागि प्रस्ताव पेश गर्ने जनाएको छ ।

यस अघि साफको बैठकले नै नेपाललाई प्रतियोगिता अयोजना गर्नका लागि प्रस्ताव गरेको थियो ।

उक्त बैठकले अगस्ट १२ देखि २४ सम्म महिला साफ नेपालमा आयोजनाको प्रस्ताव गरेको हो ।

नेपालले यस अघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो ।

विराटनगरमा आयोजना भएको साफको उपाधि भारतले जितेको थियो । नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।

साफको कंग्रेसमा नेपालबाट महासचिव राई, न्यूरोड टिमका अध्यक्ष सुन्दरनरसिंह जोशी र एन्फाका पूर्व सदस्य विकास नारायण श्रेष्ठ सहभागी हुनेछन् ।

उनीहरु बिहीबार दिउँसो ढाका प्रस्थान गर्नेछन् ।