राष्ट्रिय क्रिकेट टोलीले सेप्टेम्बरमा अष्ट्रेलिया भ्रमण गर्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा अष्ट्रेलियाको भ्रमण गर्ने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) र रोयल हेरिटेज अष्ट्रेलियाबीचको सम्झौता अनुसार नेपाली टोलीले अष्ट्रेलिया भ्रमण गर्ने भएको हो ।

 

क्यान र रोयलबीचको सम्झौता अनुसार नेपाली क्रिकेट टिमलाई हरेक वर्ष १० दिनको अष्ट्रेलिया भ्रमण गराईने छ ।

क्यानका जनरल म्यानेजर वृतान्त खनालले नेपाली टोलीको अष्ट्रेलिया भ्रमणको तयारी भईरहेको र नेपाली टोलीले स्थानीय क्लबसँग प्रतिस्पर्धा गर्ने जानकारी गराए । ‘रोयल र क्यानबीचको सहमति अनुसार हामीले भ्रमणको अन्तिम तयारी गरि गरिरहेका छौँ,’ खनालले भने ।

नेपाली टोली हाल क्यानडा भ्रमणमा रहेको छ । नेपाली टिमले क्यानडासँग दुई खेलको एकदिवसीय सिरिज र एक स्थानीय क्लबसँग अभ्यास खेल खेल्नेछ ।

नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय जुलाई ४ र दोस्रो एकदिवसीय जुलाई ५ मा हुनेछ । नेपालले जुलाई १ मा ओन्टारियोसँग अभ्यास खेल खेल्नेछ ।

त्यसपछि नेपालले स्कटल्याण्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । नेपालले स्कटल्याण्डमा लिग टू अन्तर्गत घरेलु टोली र नामिबियासँग खेल्नेछ ।