फुटबल विकासमा सहयोग गर्ने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं ।  अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित कार्यसमितिलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बुधबार एन्फाका नवनिर्वाचित पदाधिकारीसँग भेट गर्दै प्रधानमन्त्रीले बधाई दिएका हुन् ।

भेटमा प्रधानमन्त्री देउवाले देशमा फुटबल विकासका लागि सरकारले सहयोग गर्ने आश्वासन दिएका थिए ।

‘खेलको विकासका लागि मिलेर काम गर्दा सरकार सधै तपाईको साथमा रहनेछ,’ प्रधानमन्त्रीले भने ।

काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा गत असार ६ गते भएको निर्वाचनबाट पंकज बिक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएका थिए ।

अध्यक्षका अर्का प्रत्यासी कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ अध्यक्षमा निर्वाचित भएका हुन् ।

यस्तै वरिष्ठ उपाध्यक्षमा बीरबहादुर खड्का निर्वाचित भएका थिए ।

उपाध्यक्षमा दावा लामा, दिपक खतिवडा, बिराट जंग शाही र दुर्गा बहादुर केसी  निर्वाचित भएका थिए ।

महिला सदस्यमा सरिला श्रेष्ठ र पेमा डोल्मा लामा निर्वाचित हुँदा केन्द्रीय सदस्यमा मनिष जोशी, अनिल मल्ल, रबिन्द्र चन्द, विकास नारायण श्रेष्ठ,भोजराज शाही, महेन्द्र क्षेत्री, पुरुषोतम थापा,रमेश ब्यन्जनकार, मनिराज विष्ट,टिकाराम लामा,भरत बुढा थापा निर्वाचित भएका थिए ।