सुर्खेत । आज असार १५, धान दिवसका रुपमा मनाइँदैछ । आज खेतमा काम गरी दहीचिउरा खाएर मनाउने चलन छ ।
सरकारले २०६१ साल मङ्सिर २९ गते गरेको निर्णयअनुसार २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । यस वर्ष ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ मनाइँदैछ ।
नेपालमा १५ लाख हेक्टर जमिनमा बर्सेनि झन्डै ५६ लाख मेट्रिक टन धान उत्पादन हुन्छ । नेपालको आर्थिक वृद्धिदर नै धानको उत्पादनमा निर्भर छ । धानको उत्पादन बढे, कुल गार्हस्थ उत्पादन बढ्छ तर उत्पादन घटे घट्छ । तर किसानले बर्सेनि मलको समस्या भोग्दै आएका छन् ।
चालु आर्थिक वर्षका ११ महिनामा ७० अर्ब रुपैयाँको खाद्यान्न मात्रै आयात भएको छ । यसमध्ये ४५ अर्ब रुपैयाँभन्दा धेरैको धान, चामल, कनिका र धानको बीउ रहेको तथ्याङ्क छ ।
फरकबाटो १५ असार २०७९, बुधबार ०८:१०