मलेसियालाई हराउँदै युएई च्याम्पियन

काठमाडौं । युएईले एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको उपाधि जितेको छ । मलेसियाको किनरारा ओभलमा शनिबार भएको फाइनलमा आयोजकलाई ५ विकेटले हराएर युएईले उपाधि जितेको हो ।

उपाधिसँगै युएई एसिया कप क्रिकेटका लागि छनोट भएको छ । उपविजेता मलेसिया समेत एसिया कपमा छनोट भएको हो । मलेसियाले दिएको १ सय १ रनको लक्ष्य युएईले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

युएईका लागि थिर्था सतिसले ५५ रनको अर्धशतकीय इनिङ खेलिन् । खुसी शर्मा १३ रनमा अविजित रहिन् । मलेसियाका मास इलिसा, एइसा इलिसा र निक नुरले १/१ विकेट हात पारिन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर १०० रन बनाएको थियो । मलेसियाका लागि एन्ना हसिमले अविजित २८ रन जोड्दा नुर अरिनाले अविजित २५ रन बनाईन् । वान जुलियाले २० रन बनाईन् ।

युएईका इन्धुजा नन्दकुमारले २ विकेट हात पारिन् ।