फुटबल विकासका लागि नेपाल र साउदीबीच सम्झौता

काठमाडौं । फुटबल विकासका लागि नेपाल र साउदी अरेबियाबीच सम्झौता भएको छ । फुटबलका विभिन्न पक्षको विकासका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र साउदी अरेबियन फुटबल फेडेरेसन (साफ) बीच दुई वर्षको सम्झौता भएको हो ।

एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र साफका अध्यक्ष यासेर अलमिसेहालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौताका लागि एन्फा अध्यक्ष शेर्पा साउदीको भ्रमणमा रहेका छन् ।

सम्झौता अनुसार दुबै देशले फुटबल गतिविधिका लागि एक अर्कालाई आथित्यता प्रदान गर्नेछ । दुई टोलीबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र विभिन्न उमेर समूह यू-१७, यू-२० र यू-२३ को प्रशिक्षणका सहयोग आदानप्रदान  हुनेछ। यस्तै रेफ्री विकास, रेफ्री शिक्षा, भीएआर सीप र रेफ्री नियुक्तिसम्बन्धी कार्यक्रमहरु आदानप्रदान हुनेछ।

त्यस्तै युवा फुटबल विकासका लागि विभिन्न कार्यशाला, बैठक र सेमिनारहरू आयोजना गरिनेछ। यस अघि एन्फा अध्यक्ष शेर्पाले   एएफसीका महासचिव दातो विन्डसर जोन र सह महासचिव वाहिद कर्दनीसँग भेटवार्ता गरेका थिए ।