आज विश्व शौचालय दिवस मनाइँदै

सुर्खेत । आज विश्व शौचालय दिवस, नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष नोभेम्बर-१९ मा विश्व शौचालय दिवस मनाउने गरिन्छ । यो वर्ष ‘सरसफाइ र भूमिगत पानी’ भन्ने नाराका साथ नेपालमा पनि विश्व शौचालय दिवस मनाइँदैछ ।

बढ्दो सहरीकरण र जनसङ्ख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढेको छ । तर व्यवस्थित सार्वजनिक शौचालय नहुँदा आम नागरिकले समस्या भोग्नुपर्ने अवस्था अहिले पनि छ ।

सरकारले २०७६ साल असोज १३ गते नेपाललाई खुला दिसामुक्त देश घोषणा गरे पनि अझै धेरै मानिसहरु शौचालयको प्रयोग बाहिर रहेको विभिन्न सरकारी तथ्याङ्कले देखाउँछ । सरकारले खुल्ला दिसामुक्त देश घोषणा गरेको तीन वर्ष बितिसक्दा पनि व्यवस्थित शौचालय प्रयोगमा सुधार नआएको नागरिकको गुनासो छ ।