प्रथम काँक्रेबिहार हाफ म्याराथन हुँदै

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रथम काँक्रेबिहार हाफ म्याराथन प्रतियोगिता संचालन हुने भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को समन्वयमा मिड वेष्टन फिटनेश सेन्टर सुर्खेतको आयोजनामा अन्तर्राष्ट्रिय ओलम्पिक डेको अवसरमा असार ७ गते राष्ट्रिय स्तरको हाफ म्याराथुन प्रतियोगिता हुन लागेको हो ।

खेलकुदको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी कर्णाली प्रदेशको पर्यटन तथा व्यापार व्यवसायमा समृद्धि गराउने उद्देश्यले प्रथम काँक्रेबिहार हाफ म्याराथन प्रतियोगिता हुन लागेको हो । परिषद्का उपाध्यक्ष प्रमोद हमालले प्रतियोगिता खुला भएको सबैले सहभागि हुन सक्ने बताए ।

उनले सबैका लागि खुला र छुट्टै विद्यालयका छात्रछात्राका लागि प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । खुलाका लागि २१ किलोमिटर र विद्यालयका लागि पाँच किलोमिटरको म्याराथन हुने छ । वीरेन्द्रनगर चोक हुँदै बुलबुले एयरर्पोट चोक, पिपिरा चोक, धुलियाविट चोक, सुब्बाकुना, सुब्बाकुनाबाट बाङ्ग्ेसिमल, खोर्केखोला पुल हुँदै वीरेन्द्रचोक आएर समापन हुनेछ । खुलातर्फ प्रथम हुनेलाई ७१ हजार, दोस्रो हुनेलाई ४१ हजार, तेस्रो हुनेलाई ३१ हजार, चौथो हुनेलाई २० हजार, पाँचौँलाई १५ हजार र छौँठौ हुनेलाई १० हजार पुरस्कारको व्यवस्था गरिकोको छ ।

विद्यालयतर्फ प्रथम हुनेलाई १० हजार, दोस्रो हुनेलाई सात हजार र तेस्रो हुनेलाई पाँच हजार रुपियाँ पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा देशभरका एक हजार सहभागिता हुने अनुमान गरिएको छ । प्रतियोगिताका लागि परिषदले छ लाख रुपियाँ र बाँकी रकम फिटनेस सेन्टरले जुटाउने छ । प्रतियोगिताले आगामी हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई समेत सहयोग पुग्ने उपाध्यक्ष हमालले बताए ।