शेयर बजारमा देखिएका समस्या समाधान गर्न सुझाव समिति गठन गरिएकाे छ : अर्थमन्त्री

काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले नेपाली शेयर बजारमा देखिएका समस्या समाधान गर्न मन्त्रालयले चार सदस्यीय सुझाव समिति गठन गरेको बताएका छन् । आज बुधवार नेपाल धितोपत्र बोर्डको ३० औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै मन्त्री शर्माले धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकका प्रतिनिधिसहित चार सदस्यीय समिति गठन गरेको बताएका हुन् ।

अर्थमन्त्री शर्माले समितिले दिएको सुझावका आधारमा शेयर बजार सुधारको काम गर्ने प्रतिबद्धतासमेत जनाए । उनले शेयर बजारमा संलग्न रहेका लाखौँ लगानीकर्ता र सयौँ कम्पनीको समस्यालाई सरकारले गम्भीरताका साथ हेरर अनुगमनसमेत गरिरहेको बताए ।

मन्त्री शर्माले अर्थ मन्त्रालय सधैँ नियमनकारी निकायहरू स्वायत्त रहनुपर्छ भन्ने पक्षमा रहेको बताए । उनले पुँजी बजार तथा वित्तीय क्षेत्रका नियमनकारी निकायहरू स्वायत्त नै रहेको दाबी गरे । मन्त्री शर्माले अब नियमनकारी निकायले स्वायत्तता मात्रै नभएर जवाफदेहिता र पारदर्शितासहितको स्वायत्तता खोज्नुपर्ने बताए ।