अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा हार व्यहोरेको छ ।

 

पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा बिहीबार राति भएको खेलमा नेपालले अमेरिकामा रहेका पूर्व खेलाडीहरुको क्लब नेपाली अल स्टार्ससँग ४ विकेटको हार व्यहोरेको हो ।

नेपालले दिएको १ सय ९१ रनको लक्ष्य अल स्टार्सले ३३ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

अल स्टार्सको जितमा विपुल शर्माले ५० रनको अर्धशतकीय इनिङ खेले । यस्तै एन्ड्रिज गौसले ४५ रन जोड्दा गौरभ बजाजले अविजित ४० रन बनाए ।

नेपालका कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभर ५ बलमा अलआउट भएर १ सय ९० रन जोडेको थियो ।

नेपालका आरिफ शेखले अविजित रहदै ६० रनको अर्धशतकीय इनिङ खेले।

विनोद भण्डारीले २६ रन जोड्दा करण केसीले २१ रन बनाए ।

अल स्टार्सका मार्टिन कैनले ३ विकेट लिए । मोहम्मद इलायस र आदिल भाटीले २/२ विकेट लिए ।

अब नेपालले दोस्रो अभ्यास खेलमा शनिबार ह्युस्टन हरिकेन्ससँग खेल्नेछ ।