भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आइपुगेका छन् । बिहान साढे १० बजे भैरहवामा आइपुगेका उनी त्यहाँबाट सिधै लुम्बिनीमा रहेको मायादेवी मन्दिरतर्फ प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले समकक्षी मोदीलाई हेलिप्याडमै पुगेर स्वागत गरे । नेपाल ओर्लिए लगत्तै मोदीले बुद्ध जन्मस्थल आउन पाएकोमा खुसी भएको प्रतिक्रिया दिएका थिए । मोदीले मायादेवी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ ।

भारतको संस्कृति मन्त्रालयले यहाँ निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फेडेरेसन (आईबीसी) नेपाल र भारतका प्रधानमन्त्रीले शिलान्यास गर्नेछन् । दिउँसो दुवै देशका प्रधानमन्त्रीले २५६६ औँ बुद्ध जयन्ती समारोह सम्बोधन गर्ने कार्यक्रम छ ।

लुम्बिनीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । मायादेवी मन्दिरमा पूजा र भारतीय विहार शिलान्यासपछि प्रधानमन्त्री मोदीले लुम्बिनी नजिकै रहेको पाँचतारे होटल पवन प्यालेसमा गएर विश्राम गर्ने कार्यक्रम छ । त्यहाँ प्रधानमन्त्री देउवाले समकक्षी भारतीय प्रधानमन्त्रीलाई दिवा भोज आयोजना गर्ने र त्यही होटलमै दुवै प्रधानमन्त्रीबीच भेटवार्ता र समझदारीपत्रमा हस्ताक्षरको कार्यक्रम छ ।