महाकाली नदीमा बाँध निर्माणको काम भारतले तत्कालका लागि रोक्यो


सुर्खेत । दार्चुलाको महाकाली नदीमा भारतले निर्माण गरिरहेको तटबन्धको काम तत्कालका लागि रोकेको छ । स्थानीयवासीको निरन्तर आक्रोशपछि नदीको बहाव नेपालतिर धकेल्ने विवादित संरचना निर्माणको काम तत्कालका लागि रोकिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

दुवै देशका अधिकारीको छलफलमा भारतीय पक्षले अहिलेलाई संरचना निर्माणको काम रोक्न तयार भएको जनाएको छ । भारतीय पक्षबाट पटक–पटक महाकालीको बहाव नेपालतर्फ धकेलेर खलङ्गा बजार बगाउन खोजिएको स्थानीयवासीको गुनासो छ ।

भारत पिथौरागढ प्रशासनका एडीएमसहितका प्रतिनिधि र दार्चुलाका प्रमुख जिल्ला अधिकारीले हिजो सोमवार यसबारे छलफल गरेका थिए । छलफलमा दुई देशका प्रतिनिधि सम्मिलित संयन्त्र बनाएर मात्रै काम अघि बढाउने सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । उनले भने , ‘मौखिक सहमति भएको हो । विवाद रहेको क्षेत्रमा काम नगर्न भनेका छौँ । बाँकी क्षेत्रमा उहाँहरूको काम जारी छ।’

थप यो बारेमा भोलि बुधवार दुवै देशका अधिकारीबीच बैठक बस्ने जानकारी प्रमुख जिल्ला अधिकारी उपाध्यायले सुनाए । तर मौखिकरूपमा जानकारी आए पनि लिखित जानकारी नआएको हो ।