पहिलो टी-ट्वान्टीमा नेपाल र युगान्डा भिड्दै

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज सोमबार पाहुना टोली युगान्डाविरुद्ध पहिलो टी-ट्वान्टी अन्तराष्ट्रियमा प्रतिस्पर्धा गर्दैछ ।

नेपालले घरेलु मैदान टियु क्रिकेट मैदानमा युगान्डाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र युगान्डाबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

नेपाल आज युगान्डालाई हराएर सिरिजमा सुखद सुरुआतको योजनामा रहेको छ । युगान्डा पनि जितबाट सिरिजको सुरुआत गर्न चाहन्छ ।

युगान्डाविरुद्धको टी-ट्वान्टी सिरिज महिला टोलीका लागि ऐतिहासिक सिरिज हो।

अन्तराष्ट्रिय क्रिकेटमा पाइला टेकेको १५ वर्षपछि महिला टोलीले पहिलो पटक घरेलु मैदानमा सिरिज खेल्न लागेको हो । नेपालले २००७ मा मलेसियामा भएको एसीसी महिला च्याम्पियनसिप खेल्दै अन्तर्राष्ट्रिय क्रिकेट पाइलामा चालेको थियो  ।

यस्तै महिला टोलीले घरेलु भूमिमा खेल्न लागेको यो दोस्रो अन्तराष्ट्रिय प्रतियोगिता हो ।

नेपालले २०१९ मा १३ औं साग गेम्सको आयोजना गरेको थियो । त्यहिँ समय महिला टोलीले पहिलो पटक घरेलु मैदानमा अन्तराष्ट्रिय क्रिकेट खेलेको थियो । साग अन्तर्गत पोखरामा भएको महिला क्रिकेटमा नेपालले कास्य पदक जितेको थियो ।

घरेलु भूमिमा पहिलो पटक अन्तराष्ट्रिय खेल खेलेको तीन वर्षपछि नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक सिरिज खेल्न लागेको हो ।

युगान्डाविरुद्धको सिरिज नेपालको दोस्रो टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज हो । यस अघि नेपालले कतारविरुद्ध गत मंसिरमा सिरिज खेलेको थियो । कतार भ्रमण गर्दै नेपालले ३ खेलको सिरिज क्लिन स्विप गरेको थियो ।

पाँच खेलको सिरिज अन्तर्गत नेपाल र युगान्डाबीचको दोस्रो टी-ट्वान्टी मंगलबार गते र तेस्रो टी-ट्वान्टी जेठ ५ गते हुनेछ।

दुई टोलीबीचको चौंथो टी-ट्वान्टी जेठ ६ गते र अन्तिम टी-ट्वान्टी जेठ ७ गते हुनेछ ।