स्कटल्याण्डको लगातार दोस्रो जित

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डको त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा घरेलु टोली विजयी भएको छ ।

स्कटल्याण्डको मनोफिल्ड क्रिकेट मैदानमा शनिबार राति भएको खेलमा अमेरिका ५ विकेटले पराजित भएको हो । घरेलु टोलीसहित अमेरिका तथा यूएई समावेश लिग टूको यस सिरिजमा स्कटल्याण्डको यो दोस्रो जित हो ।

अमेरिकाले दिएको २ सय ९६ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले १४ बल बाँकी रहदै ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । उसका लागि कलुम म्याकलोयडले १ सय १७ रनको शतकिय ईनिङ खेले । क्रेयज वालेकले ४५ तथा कप्तान क्याथु क्रसले ४० रन बनाए ।

कायल कोट्जरले २८ तथा क्रिस ग्रेभिस र मिचेल लिक्सले अविजित रहदै १९/१९ रन बनाए । अमेरिकाका लागि नोटिस किन्एङ्जीले २ तथा शौरभ नेत्रभाल्कर,नर्सिङ पटेल तथा स्टेभन टेलरले समान १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोलीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९५ रन बनायो । उसका लागि आरोन जोन्सले अविजित १ सय २३ रनको शतकीय ईनिङ खेले ।

सुसान्त मोदिनीले ५२ रनको अर्धशतकीय ईनिङ खेले । स्टेभन टेलरले ३७ तथा इयान हल्याण्डले २० रन बनाए । कप्तान मोनाक पटेलले १९ तथा गजानन्द सिंहले १३ रन बनाए ।

घरेलु टोलीका गाभिन म्यान र मार्क वाटले समान २/२ विकेट लिए । एडरिन निल,मिचेल लिक्स तथा क्रिस ग्रेभिसले समान १/१ विकेट लिए । सिरिज अन्तर्गतको तेस्रो खेल स्कटल्याण्ड र यूएईबीच आईतबार हुनेछ ।