जरायो चोरी सिकार प्रकरणमा दुईजना प्रदेश सभा सांसदसहित ४९ जना विरुद्ध मुद्धा


सुर्खेत । पर्सामा जरायो चोरी सिकार घटनामा दुई प्रदेश सभा सांसदसहित ४९ जनालाई पर्सा राष्ट्रिय निकुञ्जले कसुरदार ठहर गरेको छ । घटनामा संलग्न भएको आरोपमा दुईजना प्रदेश सभा सदस्य र पर्साको एक गाउँपालिकाका पूर्वअध्यक्षसहित ४९ जनालाई कसुरदार ठहर गर्दै सजाय गर्ने निर्णय भएको निकुञ्ज प्रशासनले जनाएको हो ।

गएको माघ ४ गते निकुञ्जको जमुनिया खोला क्षेत्रमा अवैध रुपमा निकुञ्ज प्रवेश गरी वन्यजन्तु सिकार गरेकोबारे सूक्ष्म अनुसन्धानपश्चात् यस्तो निर्णय आएको हो ।

जरायो सिकार गरेको आरोपमा पक्राउ परेका, सिकारमा संलग्नताको आरोप लागेका तथा घटनास्थलबाट बरामद सामग्रीलगायतका आधारमा दोषी ठहर गरिएको निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले जानकारी दिए ।

जरायो सिकारमा संलग्न हुनेमा मधेस प्रदेश सभा सदस्य प्रमोदकुमार जयसवाल, बाग्मती प्रदेश सभा सदस्य श्यामबहादुर खड्का, पर्साको सखुवापर्सौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीपकुमार जयसवाल र सञ्जीव शाहीलाई वनजन्यु चोरी सिकारी घटनामा मतियार रहेको निष्कर्ष निकाल्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २७ बमोजिम सजायको निर्णय भएको सूचना अधिकारी खड्काले बताएका हुन् ।

फरार प्रतिवादीहरु कुमार लामा, विकास सहनी र उपेन्द्र यादवको हकमा भने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ को ३ बमोजिम सजाय हुने निर्णय भएको उल्लेख छ । बाँकी रहेका ३४ जना फरार प्रतिवादीहरुको हकमा पहिचान खुले। पक्राउ परि आएको बेला राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम सजाय हुने निर्णय भएको सूचना अधिकारी खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।