कर्णालीमा चुनावी तालमेल गर्न गठबन्धन दलहरु अन्तिम कसरतमा

सुर्खेत । कर्णाली प्रदेशमा गठबन्धन दलहरु  भित्र चुनावी तालमेल गर्ने विषयमा दलहरु अन्तिम कसरतमा रहेका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चुनावी तालमेल गर्ने निर्णय गरेका सत्तारुढ दलहरुबिच भागबण्डा नमिल्दा चुनावी तालमेलको बारे टुंगो लाग्न नसकेको हो ।

आज पनि दलहरु निरन्तर छलफलमा जुटेका छन् । आजदेखि उम्मेदवार मनोनय दर्ता समेत सुरु भएको छ । तर सत्तारुढ गठबन्धन भित्र भने भागबण्डा नमिल्दा तालमेल अन्यौलमा परेको छ ।

गठबन्धनका दलहरुले २०७४ सालको चुनावमा जितेका ठाउँमा दावी राख्दै आएका छन् । नेकपा माओवादी केन्द्र, कर्णाली प्रदेशका उपाध्यक्ष कृष्ण जिसीले छलफलमै रहेको बताए । उनले केही समय पछि टुंगो लाग्न सक्ने जानकारी दिए । एकीकृत समाजवादी पार्टी सुर्खेतका अध्यक्ष मोहन बडुवालले अहिलेसम्म तालमेलको बारेमा खासै केही नभएको बताए ।

उनले भने, ‘अहिलेसम्म खासै नयाँ केही भएको छैन् । आजसम्म होला ।’ यद्यपी गठबन्धनभित्र चुनावी तालमेल नभए एक्लाएक्लै चुनाव लड्ने रणनीतिमा दलहरु छन् । कर्णालीका केही जिल्लामा भने सत्तारुढ गठबन्धनका दलहरुले चुनावी तालमेल नगरेर मित्रवत प्रतिष्प्रर्धा गर्ने निर्णय समेत गरिसकेका छन् । केही पालिकामा पनि गठबन्धन भित्र चुनावी तालमेल नगर्ने निर्णय भइसकेको छ ।