७ सय ५३ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं । यही वैशाख ३० गते हुने पालिका चुनावका लागि निर्वाचन आयोगले सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सात सय ५३ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको बताए ।

उनले अब पालिकाको चुनाव नरोकिने बताउँदै शङ्का नगर्न आग्रह गरे । निर्वाचन आयोगको कार्यालयमा आज सञ्चारकर्मीसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त थपलियाले चुनावको तयारी अन्तिम चरणमा पुगेको भन्दै वैशाख ३० गते जसरी पनि चुनाव हुने दाबी गरे ।
वैशाख ३० गते हुने पालिका चुनावका लागि आउँदो ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।