
सुर्खेत । नेकपा एमाले सुर्खेतले यहाँका ३८ वटा वडाहरुमा स्थानीय तहको निर्वाचनका लागि सर्वसम्मत उम्मेद्वारहरुको टुंगो लगाएको छ । जिल्ला कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाका अनुसार एमालेले सुर्खेतका ९९ वटा वडा मध्य हालसम्म ३८ वटा वडाहरुमा सर्वसम्मत उम्मेद्वारहरुको टुंगो लगाएको हो ।
उनले १५ वटा वडाहरुले उम्मेद्वारहरु सिफारिस गरिएको बताए । शनिबार बसेको जिल्ला कमिटीको बैठकले बाँकी वडाहरुलाई वैशाख ६ गतेसम्म उम्मेद्वार सिफारिस गरिसक्न निर्देशन दिएको छ । साथै बैठकले निर्वाचनमा पार्टीपंक्तिलाई एकताबद्ध र आत्मविश्वासका साथ अभियानमा लाग्न पनि निर्देशन दिएको छ । बैठकले पार्टीले उठाउनुपर्ने उम्मेद्वारहरुको निर्णय सचिवालय बैठकले गर्ने गरी अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ ।
यस्तै प्रत्येक पालिकाले ५ देखि ७ जनासम्म सदस्य रहेको प्रचार तथा प्रसार समिति गठन गरि निर्वाचन प्रचारप्रसार कार्यलाई ब्यबस्थित गर्न पालिका कमिटीलाई निर्देशन दिएको प्रचार विभाग प्रमुख तिमिल्सेनाले जानकारी दिए ।
यस्तै जिल्ला कमिटीमा मनोनीत गरिएका सात जनालाई सदस्यहरुलाई अध्यक्ष अमृत बहादुर बिसिले सपथग्रहण गराएका छन् । बैठकमा जिल्ला इन्चार्ज नबराज रावत , जिल्ला सह – इन्चार्ज कमरेड मोहनमाया ढकाललगायतको सहभागिता रहेको थियो ।

फरकबाटो ३ बैशाख २०७९, शनिबार १७:१३