प्रदेश सभा बैठक अनिश्चतकालका लागि स्थगित, चुनाव नजिकिएसँगै सांसदहरु जिल्ला केन्द्रित

सुर्खेत । स्थानीय तहको चुनाव नजिकिएसँगै कर्णाली प्रदेश सभाको बैठक अहिले अनिश्चितकालका लागि स्थगित छ । बैठक अर्को सूचना नआउने बेलासम्मका लागि स्थगित भए पछि प्रदेश सभा सदस्यहरु अहिले आआफ्नो जिल्ला केन्द्रीत भएका छन् ।

गएको चैत २५ गते नवौ अधिवेशनको १९ औँ बैठक बसेर अर्को सूचना जारी नहुने बेलासम्मका लागि बैठक स्थगित भएको हो । तर हालसम्म बैठकको विषयमा प्रदेश सभा सचिवालयले कुनै पनि सूचना जारी गरेको छैन् ।

अहिले प्रदेश सभा सदस्यहरु आआफ्नो निर्वाचन क्षेत्रमा केन्द्रीत छन् । समितिहरुमा कोलम नै नपुग्ने अवस्था समेत आए पछि समितिहरुका बैठकहरु पनि बस्न सकेका छैनन् । अहिले आठ वटा विधेयकहरु समितिमा छलफलका क्रममा छन् । बिजनेश हुँदाहुँदै प्रदेश सभा सदस्यहरु बैठक नै स्थगित गरेर चुनाव केन्द्रीत हुन थालेका हुन् ।

प्रदेश सभा सचिव जिवराज बुढाथोकीले निर्वाचनले गर्दा प्रदेश सभा सदस्यहरुले व्यस्त भएर नभ्याउने भएकाले स्थगित गरिएको बताए । उनले भने, ‘हाउस नै बन्द गरिएको होइन । अर्को सूचना नआउने बेलासम्मका लागि स्थगित गरिएको हो । अब निर्वाचन पछि नै बैठक बस्छ होला । एक महिनासम्म बस्दैन् होला ।’ उनले अहिले प्रदेश सभामा बिजनेश  भएको बताए । अहिले विधेयकहरु समितिमा छलफलका लागि गएकाले समितिले प्रतिवेदन प्रदेश सभा बैठकलाई दिनुपर्ने हुँदा पनि बैठकका लागि भने बिजनेश कम भएको बताए । प्रदेश सभा सदस्यहरु व्यस्त भएकाले समितिका बैठकहरु पनि बस्न सकेका छैनन् । सभाले केही आर्थिक, अध्यादेश प्रतिस्थापन गर्ने विधेकयहरु पास गरिसकेको छ ।

नेकपा एकीकृत समाजवादीकी सचेतक देवी ओलिले अहिले विधेयकहरु समितिहरुमा रहेको र निर्वाचन पनि नजिकिएका कारण प्रदेश सभाको स्थगित गरिएको बताइन् । ‘अहिले धेरै विधेयकहरु समितिमै छन् । मुख्य कारण निर्वाचन पनि भयो । आफ्नो जिल्लामा भेटघाट गर्नुपर्ने, केन्द्रीत हुनुपर्ने भएकोले स्थगित भएको हो ।’ उनले भनिन् ।

नेकपा माओवादी केन्द्रका विर बहादुर शाहीले निर्वाचन नजिकिएको र अब बर्खे अधिवेशन बस्नु पर्ने भएकाले अर्को सूचना नआउने बेलासम्मका लागि स्थगित गरिएको बताए ।  एमालेका प्रदेश सभा सदस्य शुसिल कुमार थापाले केही समयसम्म प्रदेश सभा बैठक संचालन गर्ने सक्ने भए पनि सरकारकै कारण चुनाव आउन एक महिना अघि स्थगित भएको बताए । असारमा बजेट ल्याइसक्नुपर्ने हुँदा यो समयमा कानून निर्र्माण गर्ने, बजेटका बारेमा छलफल गर्नुपर्ने ठाउँमा मन्त्रीहरु नै टोलटोलमा निर्वाचन केन्द्रीत भएको उनको भनाई छ ।

नेपाली काँग्रेसका सचेतक तथा प्रदेश सभा सदस्य अमृता शाहीले अर्को सूचना नआउने बेलासम्मका लागि स्थगित भए बताइन् । उनले भनिन्, ‘निर्वाचनका कारण पनि हुन सक्छ । विजनेश नभएर पनि हुन सक्छ । बैठक स्थगित भए पछि म गाउँमै छु ।’