
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ९ तिलपुरकी कृष्णा चालिसेका श्रीमान् कमाईका लागि २०५५ सालदेखि भारत जाने आउने गरिरहन्थे । घरपरिवारको जिविकोपार्जन गर्न भारतकै कमाईको भर थियो । दुईचार महिना भारतमा मजदुरी गरेर घर फर्किने र फेरी भारत जाने आउने क्रम चलिरहेको थियो । तर २०७१ मा उनको श्रीमानको कसैले हत्या गरेको कृष्णाले सुनिन् ।
घरको आर्थिक अवस्था कमजोर हुँदा शव घरसम्म ल्याउने अवस्था पनि थिएन् । न त्यहाँ घटनाको बारेमा कसैले सोधखोज ग¥यो । उनले नेपालबाट गएर भारतमै श्रीमानको अन्तिम दाहासंस्कार गरेर फर्किन् । उनी भन्छिन्, ‘अर्कोको ठाउँमा कसले मारिदियो थाहा नै भएन् । त्यहाँ सहयोग गर्ने पनि कोही भएनन् । न दोषि पत्ता लागे न क्षतिपूर्ति पाइयो । घरको मुली मान्छे नै नरहे पछि पाउनुसम्मको दुख्ख पाइयो ।’ उनले सरकारले भारत जानेका लागि केही व्यवस्था नगर्दा आफूले न्याय र क्षतिपूर्ति पाउन नसकेको बताइन् ।
वीरेन्द्रनगर ५ का गणेश बैगार रोजगारीकै शिलशिलामा भारत हुँदा सडक दुर्घटनामा परेर शारिरीक रुपमा अशक्त भए । दुर्घटनामा घाइते भए पछि उनलाई त्यहाँको सरकारी अस्पतालमा लगियो । तर उपचार राम्रोसँग पाएनन् । न दुर्घटनाको क्षतिपूर्ति नै पाए । उनले भने, ‘दुर्घटना भए पछि एम्बुलेन्सले सरकारी अस्पतालले लिएर छोडिदियो । अस्पतालले राम्रोसँग ख्याल समेत गरेन् । पछि ऋण गरेरले नीजि अस्पतालमा उपचार गरे । उपचार गर्दा लागेको ऋण अहिलेसम्म पनि तिर्दैछु । राम्रोसँग काम गर्ने अवस्था छैन् ।’
रोजगारका लागि कर्णालीका अधिकाँश नागरिकहरु भारत जाने गर्छन् । यस्तो समस्या र पीडा रोजगारका लागि भारत गएका नेपालीहरुले भोग्दै आएका छन् । रोजगारिका शिलशिलामा केही समस्या आइपरे पहल गरिदिने कुनै संयन्त्र समेत नहुँदा झन ठूलो समस्या भोग्दै आएको उनीहरुको भनाई छ ।
कर्णाली प्रदेशका नागरिक रोजगारीका लागि जाने पहिलो गन्तव्य भारत भएकाले रोजगारीका लागि भारत कति जान्छन् भनेर एकिन तथ्यांक नभए पनि कर्णालीका अधिकाँश नागरिक कमाईका लागि भारत जाने गरेका छन् । खुल्ला सिमाना र तेस्रो मुलुकमा जाँदा आवश्यक पर्ने जस्ता काजगात नचाहिँदा सजिलै भारत जाने आउने गरे पनि नेपालीहरुले असुरक्षित रुपमा काम गर्दै आएका छन् । कमाईका लागि भारत जानेको तथ्यांक राख्न र सुरक्षित गराउन आवाजहरु उठ्दै आए पनि सरकारले वेवास्ता गर्दै आएको नागरिकहरुको गुनासो छ ।
दैलेखको महाबु गाउँपालिका ५ का खगेन्द्र शाही पनि भारतमा रोजगारीका लागि भारतमा गएको बेलामा अशक्त भए । कमाईका लागि २३ वषकै उमेरमा भारत गएका उनको काम गर्दै गर्दा भिरबाट आएको पहिरोले पुरिएर मेरुदण्ड नै भाँचियो । सँगैका साथीहरुले सरकारी अस्पतालसम्म लगे । उनले पनि त्यहाँ न राम्रोसँग उपचार पाए न क्षतिपूर्ति । भारतमा केही समय उपचार पछि उनले नेपालमै आएर उपचार गरे । कसैले पहल नगरिदिँदा आफुले राम्रो उपचार समेत नपाएको उनले बताए ।

उनले भारतमा नेपालीलाई असुरक्षा र अपमान धेरै हुने गरेको सुनाए । भारतमा जाने नेपालीहरुको सुरक्षाको ग्यारेन्टी सरकारले गर्नुपर्ने र अन्य मुलुकमा रोजगारीका लागि जाने गरेको व्यवस्था जस्तै भारतमा पनि गर्नुपर्ने उनको भनाई छ ।

फरकबाटो २ बैशाख २०७९, शुक्रबार १४:५७