जिल्लामा एक पालिकामा महिलालाई अनिवार्य उम्मेदवार बनाउन माओवादीको परिपत्र

काठमाडौं । नेकपा  (माओवादी केन्द्र) ले प्रत्येक जिल्लामा कम्तीमा पनि एक पालिका प्रमुखको उम्मेदवार महिलालाई बनाउन कडाइका साथ परिपत्र गरेको छ । कुल सात सय ५३ पालिकामा त्यसरी महिलालाई नेतृत्व दिँदा ७७ वटा पालिकाको प्रमुखमा महिलाको नेतृत्व हुने माओवादीको बुझाइ छ ।

यस्तै पालिकाको एउटा वडामा पनि महिलालाई नै उम्मेदवार बनाउनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । जनसङ्ख्यामा पनि महिलाको सङ्ख्या पुरुषको भन्दा बढी भएकाले पनि नयाँ वैकल्पिक नेतृत्वको विकास गर्ने उद्देश्यका साथ महिलालाई उम्मेदवारीमा प्राथमिकता दिनुपर्ने परिपत्रमा उल्लेख छ । महिलाले नेतृत्व गरेको पालिकामा विकास निर्माणको काम प्रभावकारी भएको, बेरुजु जस्ता विषयमा कुनै समस्या नभएको एवम् नागरिकको मागअनुसारको काम भएको निष्कर्षका साथ यस्तो व्यवस्था गरिएको माओवादीले जनाएको छ ।

माओवादीको विधानअनुसार स्थानीय पालिका समितिमा ३५ प्रतिशत बराबरको सहभागिता महिलालाई गराएको छ । सात प्रदेशमध्ये गण्डकी र कर्णाली प्रदेशको नेतृत्वसमेत माओवादीले महिलालाई प्रदान गरेको छ ।

नेपालको संविधानले पनि सरकारका हरेक निकायमा महिलाको सहभागिता ३३ प्रतिशत हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।