सुर्खेत । माघी पर्वको अवसरमा राउटे बस्तीमा खाद्यन्न वितरण गरिएको छ । बराहताल ५ गिरीघाटमा रहेका राउटेहरुको ४२ घरपरिवारलाई सोसेक नेपालको सहयोग तथा गुराँस गाउँपालिकाको समन्वयमा खाद्यन्न वितरण गरिएको हो । खाद्यन्न वितरण गर्दै गुराँस गाउँपालिका दैलेखका अध्यक्ष टोपबहादुर बि.सीले राउटेहरुको संरक्षणका लागि मदिरा नियन्त्रण गर्न जरुरी रहेको र यसको निगरानी नियमित रुपमा हुनुपर्ने बताए । उनले राउटे समुदायको सुरक्षा र संरक्षणका लागि गुराँस गाउँपालिका मात्रै नभई सरोकारवाला संघसंस्थाहरु समेत गम्भिर हुनुपर्ने बताए ।
पछिल्लो समय राउटेको संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गर्दै अध्यक्ष बि.सीले राउटे समुदायमा काम गर्ने कर्मचारीहरुलाई संवेदनशिल भएर काम गर्न निर्देशन समेत दिएका छन् । राउटे गुराँसको मात्रै नभई कर्णाली प्रदेशकै पहिचान भएकोले राउटेहरुबाट आम नागरिकले सिक्नुपर्ने धेरै आयुर्वेदिक ज्ञान भएकोले यसमा सबै लाग्नुपर्ने बताए । राउटेको लिपी निर्माण गर्ने कुरामा समेत आँफुहरुको ध्यान रहेको उनले बताए । राउटे संरक्षणका लागि गाउँपालिका एक्लैले केही गर्न नसक्ने भन्दै सबै सरोकारवालाहरुको ध्यान जान जरुरी भएको बताए ।
कार्यक्रममा बोल्दै सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिँह थापाले पहिले भन्दा राउटेहरुमा धेरै कुराको परिवर्तन आएको र राउटे युवाहरुमा अझै परिवर्तनको हुटहुटी भएको बताए ।
फरकबाटो २७ पुष २०८१, आईतवार २०:०८