अर्थतन्त्रमा सङ्कट छैन : अर्थमन्त्री शर्मा

काठमाडौं ।  अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रमा कुनै पनि सङ्कट नआएको दाबी गरेका छन् ।

अर्थ मन्त्रालयमा आज सोमवार आयोजित पत्रकार सम्मेलनमा अर्थ मन्त्री शर्माले आयात बढेर अर्थतन्त्र दबाबमा आएको भए पनि बाहिर प्रचार गरिएजस्तो सङ्कट नआएको बताए । उनले भने, ‘अहिलेसम्म उपलब्ध विवरणका आधारमा पनि अर्थतन्त्रमा ठूलो सङ्कट आएको छैन ।’

अर्थमन्त्री शर्माले गएको वर्षको तुलनामा आयात ३३ दशमलव नौ प्रतिशत र निर्यात ७२ दशमलव आठ प्रतिशत बढेको भन्दै विश्व बजारमा पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले व्यापार घाटामा चाप पैदा गरेको बताए ।

उनले नागरिक र व्यवसायीलाई हतोत्साहित गर्ने गरी नकारात्मक प्रचारबाजी नगर्न आग्रह पनि गरे । उनले अर्थतन्त्रमा राजनीतिकरण गर्न नहुने भन्दै अहिले अर्थतन्त्रलाई लिएर सुरु भएको राजनीतिले देशलाई घाटा गर्ने बताए ।