सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन वैशाख ४ गते

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन वैशाख ४ गते हुने भएको छ । आज गर्ने भनिएको निर्वाचन असन्तुष्ट पक्षले उच्च अदालतमा रिट हाले पछि रोकिएको थियो । चैत २४ गते अदालतबाट अन्तरिम आदेश खारेज हुने आदेश आए पछि वैशाख ४ गतेका लागि निर्वाचन मिति तोकिएको हो । आज निर्वाचन समितिले संशोधित निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ ।
निर्वाचन समितिका अनुसार भोलि चैत २७ गते प्रालि, साझेदारी फर्म र कम्पनिलगायतको मतदाता सूचिमा नाम समावेश हुने गरी प्रतिनिधि पठाउने, मतदाता नामावलीमा दावी विरोध, मतदाताहरुको सूचि प्रकाशन, अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्य सूचि रहेको छ । चैत २८ गते सोमबार उम्मेद्वारी दर्ता गर्ने कार्यतालिका रहेको छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेद्वार दर्ता र साँझ पाँच बजे उम्मेद्वारको सूचि प्रकाशन गर्ने कार्यतालिका रहेको छ।

चैत २९ गते बिहान १० बजेदेखि अप्राहन्न ४ बजेसम्म उम्मेद्वारी उपर दावी विरोध र फिर्ता, साँझ ५ बजे दाबी विरोध उपर निर्णय र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन, चैत ३० गतेदेखि वैशाख २ गतेसम्म चुनाव प्रचार अवधि र २ गते राती १२ बजेपनि मौन अवधि सुरु हुने कार्यतालिकामा उल्लेख छ ।