सुदूरपश्चिम सरकारमा कांग्रेस सहभागी

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले सरकार पुनर्गठन गरी कांग्रेसलाई पनि सरकारमा सहभागी गराएका हुन् ।

नेपाली कांग्रेसबाट संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला तथा कानुनमन्त्री, गोविन्दराज बोहोरा सामाजिक विकासमन्त्री र टेकबहादुर रैका सामाजिक विकास राज्यमन्त्री बनेका छन् । यी मन्त्रालय यसअघि नेकपा (एकीकृत समाजवादी) ले पाएको थियो ।

एकीकृत समाजवादीका दीर्घ सोडारीबाहेक अरु मन्त्री फेरबदल भएका छन् । समाजवादीबाट प्रकाशबहादुर रावल आर्थिक मामिला तथा योजनामन्त्री हुनुभएको छ । तीनै जना नयाँ मन्त्रीलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

मुख्यमन्त्री भट्टले कांग्रेसका रैका, समाजवादीका अमर साउद र कुलवीर चौधरीलाई राज्यमन्त्रीको शपथग्रहण गराए । साउदलाई आर्थिक मामिला र चौधरीलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ । तीन मन्त्री र राज्यमन्त्रीले हिजो नै पदबहाली गरेका छन् ।

सरकारका रहेका समाजवादीका आर्थिक मामिला तथा योजनामन्त्री तारा लामा तामाङ, सामाजिक विकासमन्त्री लालबहादुर खड्का र आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्ण जोशी, सामाजिक विकासमन्त्री मनाकुमारी साउद, आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहोरा र भौतिक पूर्वाधारमन्त्री चुनकुमारी चौधरीलाई पदबाट राजीनामा दिन लगाएर मन्त्रिमण्डल हेरफेर गरिएको हो ।