स्थानीय तहको चुनाव एकै चरणमा गर्न प्रस्ताव

काठमाण्डौ ।  निर्वाचन आयोगले आउँदो वैशाखभित्र गर्नुपर्ने स्थानीय तहको चुनाव पनि एकै चरणमा गर्न प्रस्ताव गरेको छ । अघिल्लो पटक तीन चरणमा पालिकाको चुनाव भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा र आयोगका पदाधिकारीसँग छलफलमा आयोगले एकै पटक गर्न प्रस्ताव गरेको हो ।

आज सोमवार बालुवाटारमा भएको छलफल राष्ट्रिय सभा सदस्यको चुनाव तथा प्रतिनिधि सभा र प्रदेश सभाको उपचुनावका विषयमा केन्द्रित रहेको आयोगले जनाएको छ ।

आयोगका पदाधिकारीले माघको पहिलो हप्ताभित्र राष्ट्रिय सभाको चुनाव गर्ने प्रस्ताव गरेका छन् । राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि आउँदो फागुन २० मा सकिँदैछ । कानुन अनुसार राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगाडि चुनाव गर्नुपर्छ ।

यस्तै प्रतिनिधि सभाका चार र प्रदेश सभाका १८ पद रिक्त छन् । छलफलमा ती पदमा उपचुनाव गर्ने विषयमा समेत छलफल भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।