प्राज्ञिक व्यक्तिले वास्तविकता बुझेर कलम चलाउनुस्’– नेता कंडेल

सुर्खेत । नेकपा एमाले स्थायी कमिटीका सदस्य तथा कर्णाली प्रदेशका इन्चार्ज यामलाल कंडेलले प्राज्ञिक व्यक्तिहरुले वास्तविकता बुझेर कलम चलाउनुपर्ने बताएका छन् ।
शुक्रबार नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कमिटीको छैटौं सम्मेलनलाई सम्वोधन गर्दै नेता कंडेलले यस्तो बताएका हुन् । समसामयिक विषयमा, देशको समग्र विकासको पाटो र अनुगमनका विषयमा प्राज्ञिकहरुले कलम चलाएर वास्तविकता जनतालाई बुझाउनु पर्ने बताउँदै नेता कंडेलले विश्वविद्यालयलाई आफ्नो अनुकुलतामा प्रयोग गरेर होइन समग्र प्राज्ञिक थलोको विकासका लागि प्रयोग गर्नुपर्नेमा जोड दिए ।
जिम्मेवारीले मानिसलाई अगाडि बढाउन मद्दत गर्ने बताउँदै नेता कंडेलले मन मिल्दा सम्झौता गर्ने र मन नमिल्दा आन्दोलन गर्ने जस्ता गतिविधिले विश्वविद्यालयलाई अन्तै मोडेकोमा दुःख लागेको बताए । उनले भने, ‘पछाडि परेका र पारिएकाहरुको सबैभन्दा ठूलो शक्ति भनेको नै एकता हो । त्यसैले कर्णालीले समग्र विकास गर्नका लागि अब एकतामा बाँधिनुको विकल्प छैन ।’

एक फकर प्रसङ्गमा नेता कंडेलले माओवादी र समाजवादीका नेताहरुले माओवादी र समाजवादीको साइनबोर्ड राखेको भए पनि ब्यवहार फरक गरिरहेको बताए ।

यसैगरी नेकपा एमाले सुर्खेतका उपाध्यक्ष कुलमणि देवकोटाले नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनले कुरा होइन काम गरेर विश्वविद्यालयका हरेक गतिविधिहरुमा नेतृत्व लिनुपर्नेमा जोड दिए ।

नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका इन्चार्ज डा.हर्क शाहीले संगठनले केवल पदाधिकारी नियुक्ति र सिफारिसका लागि मात्र काम गर्ने नभइ प्राज्ञिक विषयमा रचनात्मक क्रियाकलापलाई समेत जोड दिनुपर्ने बताए । उनले पदाधिकारी नियुक्ति र सिफारिसका लागि स्पष्ट कार्यविधि भएमा कार्यविधि बाहिरबाट कुनै पनि व्यक्ति सिफारिसमा नपर्ने हुँदा कार्यविधि बनाउनुपर्नेमा जोड दिए ।