
सुर्खेत / गुराँस गाउँपालिका वडा नं १ पातलखोला दैलेखकी कल्पना मगर (नाम/थर परिवर्तन) ले १७ वर्षको उमेरमा बिवाह गरिन् । अहिले उनी ३३ वर्षकी भइन् । बिवाह भएको एकवर्षमै उनले जेठी छोरीलाई जन्म दिइन् । अहिले उनकी जेठी छोरी १५ वर्षकी भइन् ।
बिवाहका केही वर्ष त कल्पनाका लागि रमाइला र अबिष्मरणीय क्षणपनि थिए । श्रीमान् र परिवारको माया र साथमा जिवन गुजारेकी थिइन् कल्पनाले । जब दोस्रो सन्तान पनि छोरी नै जन्मिइन् त्यसपछि हिंसाको रुप परिवारले देखाउन थाल्यो ।
बिवाहका केही वर्षसम्म श्रीमतीले खाना नखाएसम्म अाँफुलेपनि खान नखाने उनका श्रीमानले दोस्रो सन्ताको रुपमा छोरी जन्मिंदा रुखो बोल्न र बचन लगाउन थाले । श्रीमान्को व्यवहार परिवर्तन हुनुमा छोरीहरु कारण हुन् भन्ने कल्पनालाई लागेकै थिएन ।
कल्पनाले यसरी नै जिवन गुजारा गरिरहिन् दोस्रो सन्तान जन्मिएको चारवर्षपछि फेरि कल्पना गर्भवती भइन् । त्यो समयमा छोरा जन्मिने आशा कल्पनालाई पनि लागेको थियो र उनका श्रीमान् र परिवारले पनि छोरा नै जन्माउनुपर्छ भनेका थिए । तर तेस्रो सन्तान पनि छोरी नै जन्मिएपछि उनका श्रीमान् घर छोडेर हिँडे ।
लामो समय बाहिर बस्ने र घरमा आएपछि छोरी–छोरी जन्माएको भन्दै कल्पनाका श्रीमान्ले दैनिक कुटपिट गर्न थाले । त्यतिमात्रै होइन कल्पनाको घरका अन्य सदस्यहरुले समेत छोरी जन्माएकै कारण कल्पनामाथी हातपात गर्ने र छोरालाई अर्को बिवाह गराईदिने धम्की बारम्बार दिन थालेपछि कल्पना माइती घरमा गएर बसिन् ।
माइतीको साहारामा वडा कार्यालय र प्रहरीमा निवेदन दिएपछि कल्पना पुन परिवारमै फर्किइन् तरपनि उनलाई राम्रो व्यवहार भने कसैले गरेनन् । तेस्रो सन्तान जन्मिएको तिनवर्षपछि फेरि कल्पनाको गर्भबाट चौथो सन्तानका रुपमा छोरी नै जन्मिइन् । त्यसपछि कल्पनाका श्रीमान्ले छोरा जन्माउने भन्दै अर्को बिवाह गर्न भ्याए ।
दोस्रो बिवाह गरेका उनका श्रीमान र परिवारले कल्पनालाई फेरी घरनिकाल गरे । दोस्रो पटक पनि कल्पनाले प्रहरीको साहारा लिइन् र पुन परिवारसंगै मिलन भयो । तर न्याय भने पाइनन् सामान्य मेलमिलापमै उनलाई परिवारसंग पुर्नमिलन गराइएको थियो ।
अहिले कल्पनाको कोखबाट पाँचौं सन्तानको रुपमा ६ महिनाकी छोरी छन् तर राम्रोसंग आँखा देख्दिनन् । गर्भवती भएको समयमा श्रीमान्ले बारम्बार कुटपिट गरेकै कारण कल्पनाकी कान्छि छोरीले आँखा देख्दिनन् ।
कल्पनाले जेठि छोरीलाई जेठाजुसंग राखेकी छन् र माइली छोरी फुपुको घरमा बस्छिन् अरु तिनजना छोरी सहित उनी माइतीको साहारामा बाँचेकी छन् ।
‘छोरीहरुको अवस्था मेरो जस्तो नहोस् ’ उनले थपिन् “म जस्ता धेरै दिदिबहिनीहरु यस्तो पिडामा छन् , तर न्याय पाउन मुस्किल छ ।”
उनले धेरैपटक प्रहरी र वडामा गएर पनि आँफुले न्याय नपाएको गुनासो गरिन् ।
उनी मात्रै होइन वीरेन्द्रनगर २ सुर्खेतकी अमृता सुनार ( नाम/थर परिवर्तन) को समेत अवस्था उस्तै छ । उनले आठ बहिनी छोरीपछि बल्ल छोरा जन्मिएकी छन् । उनी समेत छोरी जन्माएकै कारण घरबाट निकालिएकी महिला हुन् । नवौं सन्तानको रुपमा छोरा जन्मिएपछि मात्रै उनको जिवनले नयाँ पालुवा फेरेको छ ।
तर आजपनि अमृताले सुत्केरी अवस्थामा पाउनुपर्ने स्याहार भन्दा बढि कुटाई पाएको दिन भुल्न सकेकी छैनन् । छोराकै लागि थुप्रैपटक गर्भसमेत खेर फालेको उनले सुनाईन् ।
वीरेन्द्रनगर ९ पर्सेनी सुर्खेतकी सरिता शर्मा ( नाम/थर परिवर्तन) का समेत चारजना छोरी छन् । मजदुरी गर्ने उनका श्रीमान्ले छोरा जन्माउनकै लागि सरितालाई थाहै नदिई अर्को विवाह गरी बसेको सात महिना भयो । सरिताका श्रीमान् मात्रै होइन नन्द, अमाजु र सासुले समेत सरिताका श्रीमान्लाई अर्की श्रीमती विवाह गर्नमा सघाउ गरे ।
अहिले पाँच महिनाको गर्भसहित सरिताका श्रीमान् र उनकी कान्छि श्रीमती घरमा पुगेका छन् । हालसम्म सरिताको विवाह दर्ता र छोरीहरुको जन्मदर्ता समेत छैन । ‘बहुविवाहको मुद्धा हाले सम्पत्ति नदिने र छोरीहरुलाई नागरिकता नदिने धम्की श्रीमान्ले दिनुहुन्छ ’ उनले भनिन् “ श्रीमान्की कान्छि श्रीमती गर्भवती छन् । गर्भमा छोरा छ भनेर परिवारले उसैलाई माया गर्नुहुन्छ ।”
यि त केही उदाहरण मात्रै हुन् । कर्णाली प्रदेशमा छोरी जन्मिाएकै भरमा दैनिक कुटपिट, घरनिकाला र कानुनी बाटो सम्म जान नसकेका थुप्रै महिलाहरु छन् । जसले छोरी नजन्मनुमा आफ्नै दोष भन्दै पुर्रपुरोमा हात राखेर घरेलुहिंसा सहेर बसेका छन् । कती महिलाहरु छोराकै आशमा असुरक्षीत गर्भपतन गराउन बाध्य छन् । जसका कारण निम्तिने अन्य स्वास्थ्य सम्बन्धि समस्याबाट समेत उनीहरु अछुतो छैनन् ।
छोरा र छोरी हुनुमा मुख्य भुमीका पुरुषकै हुन्छ भन्ने कुरा हरेक महिला र पुरुषले जानकारी नराखेसम्म छोरी जन्मिएकै भरमा हरेक महिलाले हिंसा खेपिरहनुपर्छ ।
नेपालको संविधान २०७२ ले मौलिक हकको रुपमा महिलाको हक सम्बन्धि व्यवस्था गरेको छ । धारा ३८ को उपधारा (१) मा प्रत्येक महिलालाई लैंगिक भेदभाव बिना समान वंशिय हक हुनेछ र उपधारा (२) मा प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धि हक हुनेछ भनी व्यवस्था गरेको छ ।
साथै घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ अनुसार विविध कारणले घरबाट निकाला गरे, कुटपिट गरे वा गालिगलौच गरे पीडितले ९० दिन भित्र प्रहरी कार्यालय, स्थानिय निकाय, राष्ट्रिय महिला आयोग, सम्बन्धित जिल्ला अदालतमा उजुरी दिन सक्छ ।
साधारण प्रकृतिको घरेलुहिंसा भएको खण्डमा पीडकलाई ३ हजार रुपैयाँ देखी २५ हजार सम्म जरिवाना वा छ महिना कैद वा दुवै सजाय हुने प्रष्ट व्यवस्था गरेको छ ।
यस विषयमा अधिवक्ता गिता कोइरालाले छोरी जन्माएकै कारण गरिने हिंसालाई घरेलुहिंसा (कसुर र सजाय) ऐन, २०६६ अनुसार कार्रबाही हुने बताईन् ।

सीता वली १६ चैत्र २०७८, बुधबार १९:१६