श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध


सुर्खेत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नलगाउन अनुरोध गरेको छ ।

मन्त्रालयले आज विज्ञप्ति निकालेर मन्त्रालयमा केही अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकरस्वास्थ्यकर्मीरनर्सिङ स्टाफलगायत कर्मचारीका साथै अन्य प्रतिष्ठानमा कार्यरत व्यक्तिलाई नियमानुसार श्रम सम्झौता नगरी काममा लगाइएको, प्रचलित कानूनले तोकेकोभन्दा धेरै समय काममा लगाइएको भन्ने उजुरी तथा गुनासा प्राप्त भएको र यस विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले श्रम ऐनबमोजिम कामदार राख्न सबैमा अनुरोध गरेको छ । श्रम ऐन २०७४ को दफा २ ढ मा ‘रोजगार सम्झौता’ भन्नाले रोजगारीको सेवा, शर्त र सुविधाका सम्बन्धमा रोजगारदाता र श्रमिकबीच भएको सम्झौता सम्झनुपर्छ ।

कानूनबमोजिम प्रतिदिन ८ घण्टा र हप्तामा ४८ घण्टाभन्दा धेरै समय काममा लगाउन नपाइने, धेरै समय काममा लगाउन परेमा प्रतिदिन ४ घण्टा र १ हप्तामा २४ घण्टाभन्दा धेरै नहुने गरी लगाउन सकिने भन्ने कानूनी व्यवस्था छ ।

मन्त्रालयले प्रचलित कानूनको पूर्णपालना गर्न सरोकारवालाको ध्यानाकर्षण गराएको छ । साथै यस विपरीत कार्य गरेको पाइएमा श्रम ऐन २०७४ बमोजिम कारबाही हुने जनाएको छ ।