शेयर बजारमा नयाँ व्यवस्था खारेजीको माग गर्दै लेखा समितिमा निवेदन


सुर्खेत । नेपाल शेयर बजार लगानीकर्ता सङ्घले नेपालको पूँजी बजारमा आजदेखि लागू गरिएका नीतिगत व्यवस्थाहरूलाई गैरकानूनी, षड्यन्त्रपूर्ण र स्वार्थ समूहको प्रभावमा ल्याइएको आरोप लगाउँदै प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा निवेदन दिएको छ ।

आजदेखि प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्टि दायरा २ प्रतिशतबाट ५ प्रतिशत, दैनिक मूल्य उतारचढाव सीमा १० प्रतिशतबाट १५ प्रतिशत र नेप्से सूचक घटबढ सीमा ६ प्रतिशतबाट ८ प्रतिशत पुर्‍याउने नियम लागू भएको छ ।

सङ्घले यस्तो व्यवस्था संसद् र सरकारको अधिकार अतिक्रमण गर्दै स्वार्थ समूहलाई फाइदा पुग्ने गरी ल्याइएको दाबी गर्दै झन्डै ५० खर्ब रुपैयाँको बजार पूँजीकरण भएको पूँजी बजारमा नागरिकको लगानी जोखिममा परेको भन्दै सार्वजनिक लेखा समितिले तत्काल हस्तक्षेप गरी प्रभावकारी कदम चाल्न आग्रह गरेको छ ।