रोल्पा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई अप्ठेरो भर्दा सधैँ रोल्पा सम्झने गरेको बताएका छन् । पूर्वप्रधानमन्त्री प्रचण्डले रोल्पा सदरमुकाम लिवाङमा आज सोमवार आयोजित जनसभालाई सम्बोधन गर्दै भने, ‘विगतमा पनि आफूलाई अप्ठेरो पर्दा रोल्पा आइ नयाँ ऊर्जा लिएर फर्कन्थेँ ।’
पछिल्लो राजनीतिक परिवर्तनमा रोल्पाको ठूलो योगदान रहेको प्रचण्डले स्मरण गर्नुभयो । ‘हिजो क्रान्तिको किल्ला रहेको रोल्पा अब विकास र समृद्धिको किल्ला बन्नुपर्छ’, प्रचण्डले भने । माओवादी केन्द्र जिल्ला समन्वय समिति रोल्पाले आयोजना गरेको जनसभामा प्रमुख अतिथि रहनुभएका प्रचण्डले दश वर्षे सशस्त्र युद्धको स्मरण गरेका हुन् । सशस्त्र युद्धलाई नयाँ उचाइ दिन रोल्पा र रुकुमले आधार इलाकाका रूपमा महत्त्वपूर्ण भूमिका खेलेको प्रचण्डको भनाइ थियो ।
जनसभालाई सम्बोधन गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले आफूहरू एक्लै चुनावमा जाने गरी तयारी गरिरहेको बताए । ‘गठबन्धनको बलमा हैन आफ्नै तागतमा चुनावमा जाने हो’, उनले भने । पूर्वप्रधानमन्त्री प्रचण्डले रोल्पा नगरपालिकाले सातदोबाटोमा निर्माण गरेको जनयुद्ध स्मृति भ्यु टावरको उद्घाटन गरेका थिए । भ्यु टावर उद्घाटनका क्रममा प्रचण्डले रोल्पाले विकासको नयाँ मोडेल दिनुपर्ने बताए । ‘रोल्पाले ध्वंश मात्र हैन निर्माण पनि गर्छ भनेर जवाफ दिनुपर्ने बेला आएको छ’, प्रचण्डले भने ।
प्रचण्डले भ्यु टावरको दशौँ तला चढेर रोल्पा र प्युठानका विभिन्न भूभागको दृश्यावलोकनसमेत गरेका थिए । दुई हजार ५५ मिटर उचाइमा रहेको रोल्पा नगरपालिका–३ सातदोबाटोमा रहेको चुच्चे डाँडोमा भ्यु टावर बनाइँदैछ । चक्रेश्वरीरब्राइट जेभी काठम डौँले ठेक्का लिएको टावर निर्माणको काम गएको असारमा सम्पन्न गर्ने सम्झौता भए पनि समयमा नसकिएपछि म्याद थपिएको थियो । एक सय १२ फिट अग्लो यो टावरको कुल ठेक्का रकम (भेरियशनसमेत) चार करोड ७६ लाख ८७ हजार रुपैयाँ रहेको नगरपालिकाको भनाइ छ ।
फरकबाटो १४ चैत्र २०७८, सोमबार १८:४६