चीनमा हिजो साेमवार एक सय ३२ जना यात्रु बोकेको बोइङ कम्पनीको ७३७ मोडलको जहाज दुघर्टना भएपछि विभिन्न देशले यो मोडलको जहाजको उडानमा सुक्ष्म निरीक्षण थालेका छन् ।

भारतको नागरिक उड्डयन महानिर्देशनालयले बोइङ ७३७ को उडान प्रक्रिया, हावामा हुने गतिको घटबढ र अन्य प्रक्रियाको अनुगमन गर्न टोली बनाएको बीबीसीले जनाएको छ । उडान सुरक्षा गम्भीर विषय भएकाले यसको अध्ययनमा लागेको महानिर्देशनालयका प्रमुख अरुण कुमारले बताउनुभएको छ । भारतमा स्पाइस जेट, विस्तारा र एअर इन्डिया एक्सप्रेसले बोइङ ७३७ का सयौँ विमान प्रयोग गरिरहेका छन् ।
यस्तै अमेरिकी विमान निर्माता बोइङले चीनमा भएको दुर्घटनाको अनुसन्धानमा सघाउने र सुरक्षाको सवालमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएको छ । बोइङ ७३७–८०० सिरिजका चार हजार दुई सय आठ वटा जहाजमध्ये एक चौथाइ अर्थात् १२ सयभन्दा धेरै जहाज चीनमा रहेका छन् । सन् २०१८ र २०१९ मा बोइङ ७३७ म्याक्स सिरिजका दुई वटा जहाज दुघर्टनामा परेर तीन सय ४६ जना यात्रुको ज्यान गएपछि कम्पनीले सुरक्षाको विषयमा धेरै आलोचना खेपिरहेको छ ।
चीनमा हिजाे भएको दुर्घटनापछि अमेरिकाको शेयर बजारमा बोइङ कम्पनीको मूल्य साढे तीन प्रतिशतले घटेको छ । हिजो चाइना इस्टर्न एअरलाइन्सको जहाज दुघर्टना हुँदा एक सय ३२ जनाकै ज्यान गएको अनुमान गरिएको छ । चाइना इस्टर्नले बोइङ ७३७ मोडलका जहाज ग्राउन्डेड गरिसकेको छ ।
हिजोको दुर्घटनाले बोइङले निर्माण गरेका ७३७ म्याक्स मोडलका जहाजकाे फेरि बिक्री सुरु गर्ने कम्पनीको योजनामा अर्को धक्का लागेको छ । बोइङले चीनको बजारलाई लक्षित गरेर एक सय ४० वटा ७३७ म्याक्स मोडलका जहाज बनाए पनि सुरक्षाको कारण देखाउँदै चिनियाँ कम्पनीले खरिद गर्न मानेका छैनन् ।

फरकबाटो ८ चैत्र २०७८, मंगलवार १५:३६