अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमासम्म पुग्ने एउटा विशाल रकेट प्रक्षेपणका लागि गरेको दोस्रो पटकको तयारी पनि अन्तिम समयमा रोकिएको छ ।
रकेटमा इन्धन चुहावटको समस्या देखिएको र परीक्षण प्रक्षेपण स्थगित गरिएको नासाले जनाएको छ । यसअघि गएको सोमवारको प्रयास पनि इन्जिनमा समस्या देखिएपछि अन्तिम समयमा आएर रोकिएको थियो । अब आउँदो अक्टोबरअघि रकेट प्रक्षेपण हुने सम्भावना नरहेको नासालाई उद्धृत गरी बीबीसीले जनाएको छ ।
आर्टमिस नामको यो कार्यक्रमले मानिसलाई पुनः चन्द्रमामा पुर्याउने लक्ष्य लिएको छ । यस अभियानअन्तर्गत पहिलो पटक अश्वेत मानिस र महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउन लागिएको नासाले जनाएको छ। स्पेस लन्च सिस्टम एसएलएस नाम राखिएको यो रकेट नासाले विकास गरेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रकेट हो ।
यसले चन्द्रमामा ५० वर्षको अन्तरमा आउँदो दुई वर्षभित्र मानिस उतार्ने आधार खडा गर्ने भनिएको छ ।
फरकबाटो १९ भाद्र २०७९, आईतवार ११:३५