श्रीलङ्काको नौसेनाले पक्राउ गरेका २२ जना भारतीय मछुवा रिहा

सुर्खेत । श्रीलङ्काको अदालतले पक्राउ परेका २२ जना भारतीय मछुवालाई रिहा गर्न आदेश दिएको छ । तमिलनाडुको रामनाथपुरम जिल्लाको मण्डपम र पुडुकोट्टईमा माछा मार्ने बन्दरगाहबाट निस्केका उनीहरुलाई श्रीलङ्काको जाफनाको डेल्फ्ट टापु नजिकैबाट पक्राउ गरिएको थियो ।

श्रीलङ्काको जलक्षेत्रमा प्रवेश गरेको आरोपमा त्यहाँको नौसेनाले उनीहरुलाई गत जुन २२ तारिखमा पक्राउ गरेको थियो । साथै मछुवाबाट भारतीय डुङ्गा समेत नियन्त्रणमा लिइएको थियो । पक्राउ परेका २२ जना मछुवालाई स्थानीय प्रहरीले अनुसन्धानपछि अदालतमा उपस्थित गराएको थियो ।

न्यायाधीशले उनीहरुलाई जुलाई ५ तारिख अर्थात् हिजोसम्म न्यायिक हिरासतमा राख्न आदेश दिएको थियो । हिरासत पूरा भएपछि फेरि अदालतमा पेस गरिएका उनीहरुलाई अदालतले रिहा गर्न आदेश दिएको समाचार संस्था एएनआईले बताएको छ ।

हिजो रिहा भएका २२ जना भारतीय मछुवा केही दिनभित्रै घर फर्किने अपेक्षा गरिएको मछुवा सङ्घलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् ।