सुर्खेत, । कर्णाली प्रदेश सरकारले बाढी पहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई दुर्घटना बिमाबाट दुई लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
प्रदेश विपद् व्यवस्थापन परिषद्को आज बसेको बैठकले दुर्घटना बिमाबाट तत्तकाल दुई लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको हो । प्रदेश सरकारले प्रदेशका नागरिकको सामुहिक विपद् दुर्घटना बिमा गरेको छ । राहत स्वरुप तत्काल बिमाबाट रकम उपलब्ध गराइने प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सिता कुमारी नेपालीले जानकारी दिइन ।
कर्णाली प्रदेशमा पछिल्लो समय बाढी पहिरोबाट सात जनाको ज्यान गएको छ । बाढी पहिरोमा परेर चार जना घाइते हुनुका साथै एक जना बेपत्ता भएका छन् ।
यस्तै विपद्मा परी घाइते भएका व्यक्तिहरुको उपचार व्यहोर्ने पनि बैठकले निर्णय गरेको छ । विपद्का कारण अवरुद्ध भएका सडक, पुल, खानेपानी, सिंचाई र विद्युत पूर्वाधारको मर्मतसम्भार गरी तत्काल सुचारु गर्ने उनले बताइन ।
खेतीबालीमा भएको क्षतिको एकिन विवरण संकलन गरी कृषकहरुलाई क्षतिपुर्तीको व्यवस्था गर्ने, पुर्णरुपमा क्षति भएका घरहरुको विवरण संकलन गरी संघीय र स्थानीय सरकारसंग समन्वय गरी पुनःनिर्माण तथा पुनस्र्थापना गर्ने, विपदका कारण क्षतिग्रस्त विद्यालय भवन र स्वास्थ्य चौकीका भवनको लगत संकलन गरी पुनःनिर्माणको व्यवस्था मिलाउने पनि बैठकले निर्णय गरेको छ ।
फरकबाटो ५ कार्तिक २०७८, शुक्रबार ११:५८