सुर्खेतमा फोर्स गाडी दुर्घटना, चारजना घाइते

सुर्खेत । बराहताल गाउँपालिका ५ हल्दु स्थित कर्णाली राजमार्गमा आज फोर्स गाडी दुर्घटना हुँदा चारजना घाइते भएका छन् । कालिकोटबाट सुर्खेततर्फ आउँदै गरेको लु २ ख ५००० नं को फोर्स गाडी अनियन्त्रित भई सडक छेउमा पल्टिँदा चारजना घाइते भएका हुन् ।

घाइतेहुनेहरुमा दुल्लु नगरपालिका ३ का २९ वर्षीय कोपीला बुढा, वीरेन्द्रनगर नगरपालिका ४ का ३५ वर्षीय लुल्सी खड्का, अछामका ३८ वर्षीय हरीबहादुर साउद र तुर्माखाँद गाउँपालिका २ का ४५ वर्षीयगणेश शाही घाइते भएका हुन् । घाइतेहरुको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

चालक शुभकालिका गाउँपालिका ३ कालिकोटका २८ वर्षीय शेरबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडीमा १६ जना सवार रहेको र यात्रुहरुलाई गाडीको व्यवस्था गरी गन्तव्यतर्फ पठाइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।