राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा २५ खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणका लागि २५ खेलाडीलाई डाकिएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बन्द प्रशिक्षणका लागि २५ खेलाडी डाकेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

थाइल्याण्ड र थाइ क्लब चोनबरी एफसीसँगको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा २५ खेलाडी डाकिएको हो । नेपालले थाइल्याण्डसँग मार्च २४ मा खेल्नेछ । यस्तै नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ । उक्त खेल मार्च २७ मा हुनेछ । दुबै खेल चोनबरीमा हुने एन्फाले जनाएको छ ।

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो । छनोटमा नेपाल  समूह ‘ए’ मा रहेको छ। नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ ।

एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेको हो । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।

नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध  खेल्नेछ ।

प्रशिक्षणमा डाकिएको टिम :

किरण कुमार लिम्बु, टिकेन्द्र थापा, दीप कार्की, आशिष लामा, आयुष घलान, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, प्रशान्त अवस्थी, नविन गुरुङ, दर्शन गुरुङ, नितिन थापा, दिनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, आकाश बुढा मगर, सुमन अर्याल, सुमन लामा, सुदिप गुरुङ, सुरज ज्यु ठकुरी, तेज तामाङ, सुबाश गुरुङ, रोहित चन्द, जगजित श्रेष्ठ