नेपालले स्कटल्याण्डमा खेल्ने श्रृंखलाको खेल तालिका सार्वजनिक

काठमाण्डाै । विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपालले स्कटल्याण्डमा खेल्ने त्रिदेशीय एकदिवसीय श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने श्रृंखलाको तालिका सार्वजनिक गरेको हो ।  सार्वजनिक खेल तालिका अनुसार नेपालले पहिलो खेलमा नामिबियासँग जुलाई ११ मा खेल्नेछ । यस्तै नेपालले दोस्रो खेल स्कटल्याण्डसँग जुलाई १३ मा खेल्नेछ । नेपालले तेस्रो खेल नामिबियासँग जुलाई १६ र अन्तिम खेल स्कटल्याण्डसँग जुलाई १७ मा खेल्नेछ ।

लिग टुको अंक तालिकामा नेपाल छैटौं स्थानमा छ । नेपालले अहिलेसम्म खेलेका १२ खेलमध्ये ६ जित र ६ मा हार व्यहोरेको छ । लिग टु अन्तर्गतकै सिरिजका लागि नेपाली राष्ट्रिय पुरुष टोली अहिले अमेरिकामा छ ।