सुर्खेत । कर्णाली प्रदेश सभा सदस्यहरुले बजेट कार्यान्वयनलाई परिणामुखी गराउनुपर्नेमा जोड दिएका छन् । कर्णाली प्रदेश विनियोजन अध्यादेश २०७८ लाई प्रतिस्थापन गर्न बनेको प्रदेश विनियोजन विधेयक २०७८ माथि प्रदेशसभा बैठकमा छलफल गर्दै प्रदेश सभा सदस्यहरुले परिणाम दिने गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् ।
कर्णाली प्रदेश सभा सदस्य पदमा खड्काले मन्त्रालयहरुल्े डल्लो बजेट राखेर कार्यान्वयन गर्न नसकेको अवस्था रहेको भन्दै कार्यान्वयनमा महत्वपूर्ण ध्यान दिनुपर्नेमा बताइन् । उनले भनिन्,, ‘योजना मन्त्रालयमा डल्लो बजेट राख्दा कार्यान्वयन गर्न नसकेको अवस्था छ । मन्त्रालयहरुमा आफू अनुकुल रकामान्तर गरिन्छ । यो कर्णालीको विकास लागि उपयुक्त छैन् । बजेट परिणामुखी कार्यान्वयनमा महत्वपूर्ण ध्यान सरकारको जाहोस् ।’
प्रदेशसभा सदस्य दल रावलले परिणामुखी बजेट गराउनुपर्नेमा जोड दिए । उनले भने, ‘प्रतिष्ठानका भवनका लागि दश लाख, पाँच लाखको बजेट छ । यस्तो बजेटले परिणाम दिँदैन् । परिणामुखी बजेट बनाउँ । साना टुक्रे योजनाको बजेटलाई कायानर््वयन नगरी परिणाममुखी योजनामा कार्यान्वयन गर्न जरुरी छ ।’ मुख्यमन्त्री रोजगार कार्यक्रम वितरणमुखी भएकाले यसलाई उत्पादनमुखी रोजगार सृजना गर्ने गरी बजेट कार्यान्वयन गर्नुपर्ने उनले सुझाव दिए ।
प्रदेशसभा सदस्य देवी ओलिले कृषि उत्पादन, संकलन तथा बजारीकरणलाई विशेष जोड दिनुपर्ने बताइन् । उनले मुख्यमन्त्री रोजगार कार्यक्रम, महिला आयआर्जन र उद्यमशिलता कार्यक्रमहरुलाई प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताइन् ।
प्रदेशसभा सदस्य ठम्मर विष्टले नागरिकलाई आवश्यक योजनाहरु कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले बजेट कार्यान्वयन प्रभावकारी गराउन सरकारले समयमै बजेट कार्यान्वयन गर्नुपर्ने बताए ।
फरकबाटो २४ फाल्गुन २०७८, मंगलवार ११:५७