६ लाख घुससहित पक्राउ परेका उपसचिवको गाडीमा थप साढे १६ लाख भेटियो

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाट थप साढे १६ लाख रुपैयाँ बरामद गरेको छ ।
उनलाई अख्तियारले ६ लाख रुपैयाँ घुस सहित रंगेहात पक्राउ गरेपछि गाडीमा थप भेटिएको १६ लाख रकमसहित उनको साथबाट साढे २२ लाख रुपैयाँ भेटिएको हो ।

‘उहाँलाई रंगेहात पक्राउ गरेपछि सोधपुछ र खानतलासीका क्रममा उहाँको गाडी हेर्दा थप साढे १६ लाख रुपैयाँ भेटिएको छ’ अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले भने ‘त्यो रकम कहाँबाट, किन र कसले दियो भन्ने उहाँले खुलाउन सक्नुभएको छैन । हामीले बुझेअनुसार हामीलाई उजुरी गर्ने टोलीभन्दा पहिले अरु कसैसँग त्यो रकम लिएर हिँडेको हाम्रो आशंका हो ।’

अख्तियारको टोलीले अहिले रकमको मुचुल्का बनाउनेदेखि अरु कागजात र प्रमाण संकलन गरिरहेको छ । अख्तियारको टोलीले उपसचिव नेपाललाई नक्साल नागपोखरीको एक होटलबाट पक्राउ गरेको थियो ।

अख्तियारका अनुसार, प्याराग्लाईडिङ सञ्चालनको अनुमतीपत्र दिने कामका सिलसिलामा उपसचिव नेपालले घुस मागेका थिए । त्यसपछि सम्बन्धित व्यवसायीले अख्तियारमा खवर गरी आफैले रकम दिने योजना बनाएका थिए र त्यसक्रममा रकम उपलब्ध गराएका हुन् ।

तर गाडीमा रहेको साढे १६ लाख रुपैयाँ भने अलग रकम हो । उनको साथबाट त्यो रकम बरामद होला भन्ने अनुमान नभएको अख्तियारका एक अधिकृतले बताए । ‘कोही रंगेहात पक्राउ गरेपछि हामीले प्रक्रिया पु¥याउन नियमित खानतलासीका क्रममा थप रकम बरामद गरेका हौं’ ती अधिकृतले भने, ‘उहाँ रकमबारे केही बोल्नुभएको छैन ।’

अख्तियारले त्यो रकमलाई स्रोत नखुलेको रकमको रुपमा बरामद गरेको छ र त्यसलाई गैरकानूनी आर्जन मानेको छ । अख्तियारको टोलीले पर्यटनको अनुमतीको विषयमा घुस डिल गर्नुअघि उपसचिव नेपालले कुनै अर्को टोलीसँग घुस लिएर गाडीमा राखेको हुनसक्ने अनुमान गरेको छ ।

३८ वर्षिय उपसचिव नेपाल रुपन्देही शुद्धोदन गाउँपालिकाका हुन् । उनी हाल बूढानीलकण्ठमा बस्छन् । उनी २०६६ साल असार ३० गते निजामती सेवामा प्रवेश गरेका हुन् ।

साभार : अनलाइन खबर