प्रकाश सपुत अभिनित ‘परदेशी–२’ आउने दशैंमा

काठमाडौं । लोक गायक प्रकाश सपुत अभिनित चलचित्र  ‘परदेशी–२’ आगामी दशैंमा प्रदर्शन हुने भएको छ । पछिल्लो समय गोकगीतमा आफ्नो फरक शैलीका कारण चर्चामा रहेका प्रकाशले यसै चलचित्रबाट ठुलो पर्दामा डेब्यु गर्न लागेका हुन् । यसअघि उनले म्युजिक भिडियोमा भने अभिनय गरिसकेका छन् ।

नारायण रायमाझीको निर्देशन रहेको चलचित्रमा प्रकाशका साथै अर्का गायक प्रशान्त तामाङको पनि अभिनय रहेको छ ।  ‘परदेशी’मा प्रशान्तकै मुख्य भुमिका रहेको थियो । प्रकाश र प्रशान्तका अलवा चलचित्रमा दीलिप रायमाझी, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, सुशील पोखरेल, रमा थपलिया, देबेन्द्र बब्लूलगायतका कलाकारको अभिनय रहेको छ ।

रमेश बिजीको कथा रहेको चलचित्रलाई राजेश बंशलले निर्माण गरेका हुन् । चलचित्रको कथा दशैंको परिवेशसँग जोडिएकोले दशैंमा नै रिलिज गर्ने निर्देशक रायमाझीले यसअघि नै बताइसकेका छन् । त्यसो त २०७६ साल फागुन १० गते छायाँकनमा जाँदै गर्दा २०७७ को दशैंमा चलचित्र प्रदर्शन गर्ने बताइएको थियो । तर, कोरोना महामारीका कारण चलचित्रको छायाँकन बिचैमा रोकियो । लकडाउन खुले लगत्तै २०७८ को दशैंलाई प्रदर्शन मिति तय गरियो । यो वर्षपनि दशैंमा हल खुल्न सकेनन्, जसका कारण परदेशीको रिलिज थप एक वर्ष पछि धकेलिएको छ । शनिबार निर्माण टिम र बितरण कम्पनी बिच भएको छलफल पछि उक्त मितिलाई लक गरिएको हो ।

अमेरिका र भारतको विभिन्न स्थानसँगै पोखरा, पाल्पा, चितवन र काठमाडौंलगायतका स्थानमा चलचित्रको छायाँकन गरिएको छ । अध्ययनका लागि विदेशिने नेपाली विद्यार्थीहरुको विषयवस्तुलाई चलचित्रमा देख्न पाइने छ ।

चलचित्रमा चलचित्रलाई नारायण इन्टरनेशनल प्रालिको ब्यानरमा राजेश वंशल र नारायण रायमाझीले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा मानकृष्ण महर्जनको छायाँकन, अष्ट महर्जनको द्वन्द्व, बिबि अनुरागीको संगीत, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी र दीर्घ खड्काको सम्पादन रहेको छ ।