पाँचसय रुपैयाँ

बसन्ती कुमारी शाही

तिमीसंग सल्लाह छ, अलि यता आउन । मलाई देखे देखि नै पिछा गरी राखेको उसले हाँस्दै मलाई भन्यो । मैले उत्सुक हुँदै सोधें, के सल्लाह हो र ? अलि यता आउन, उसले मेरो पाखुरा समातेर आफुतिर तान्यो र मेरो गालामा गाला जोड्दै कानैमा मुख ल्याएर भन्यो, नास्ता खान जाउन, हुन्छ की नाई ?

मैले उ बाट यस्तो प्रस्तावको आशा गरेकी थिईंन । म अलि पछाडि सरेंर उसको अनुहारमा हेरें । उसलाई एकदम निश्चल र निष्कपट देखें । उसको अनुहारमा पाप, कपट, डर, ईस्र्या, माया, मोह, लोभ, लालच, भोक, प्राप्ती जस्ता कुनै किसिमका भाव मैले पाईंन । सोचें…. यसले के भनेको होला ? किन नास्ता खान जानकोलागि भनेको होला ? मसंग घुम्न कै लागि जाने पनि उसको ईराधा होईन जस्तो लाग्यो र एकछिन सोचेर उसलाई भनें, नास्ता खान काँ जाने ? उसले भन्यो, चिसापानी, हुन्छ कि नाई ? उ मलाई हुन्छ भनाउने पक्षमा थियो ।

उसले खानै नपाएर त मलाई खान जाने प्रस्ताव गरेको हैन भन्ने मलाई लाग्यो । किनकी उसको अनुहारमा भोक थिएन । अनि मैले भने, त्यहाँ पुग्न कति टाईम लाग्छ ? उत्तरमा उसले भन्यो, धेरै टाइम लाग्दैन, नजिकै छ । मैले सोधें, को को जाने ? उसले भन्यो, तिमी र म जाने, हुँदैन ?

के खाने त्यहाँ गएर ? मैले सोधें, जाँउ न पहिला अनि के खाने त्यहीं कुरा गरौंला । जाने कि नाई ? मैले प्रति प्रश्न गरें, कसरी जाने त त्यहाँ सम्म ? उसले भन्यो, तिम्रो गाडीमा जाने । हो के । हुन्छ कि नाई ?

मेरो मुठी भरी दश रुपीयाँको नोटहरु थियो । उसले देख्ने गरी मैले मुठीमा समातेकी थिंए । तर उसलाई त्यो सानो नोटको मुठ्ठाले कुनै असर पारी राखेको थिएन । त्यो पैसा तिर उसको नजरसम्म पनि गएको मैले देखिन । हेर्दा उसको उमेर किशोराबस्थाको आधा–आधीतिर पुगे जस्तो अन्दाज लगाउन सकिन्थो । भरखरको कलकलाउँदो उमेरको ।

तर हिजो राती खाएको अंग्रेजीपानीको गन्ध उसको मुखबाट आई नै रहेको थियो । बोली पनि अलि लरबरिएको सुनिन्थ्यो । शब्दहरु अड्कलेर बोल्थ्यो । सायद नेपाली भाषामा राम्रो दख्खल नभएर पनि होला । नशाको अम्मली जस्तो आँखा लोलाएको थियो । ओठमा कलेटी पारेको थियो । प्रायः बोल्दा खेरी आफ्नो चोर औंलालाई ओठमा छोएर बोल्थ्यो । सायद उसले आज मुख पनि धोएको थिएन । मलाई त लाग्थ्यो, उसले मुख नधोएको धेरै दिन भईसकेको छ । दुईवटा नेपाली झण्डा क्रस गरेर राखेको भादगाँउले कालो टोपी लगाएको थियो । त्यो पनि मैलो थियो ।

गलामा मैलो र पुरानो जस्तो देखिने कालो र सेतो रंगको उनी गलबन्दी बेरेको थियो । गलबन्दीको छेउलाई घुमाएर सानो पोको बनाएको मैले देखें र पोको समात्दै सोधें, यो केहो ? उसले कुन्नी के भनेथ्यो, मैले बुझिन र आफै खोलेर हेरें । उसले नाई नास्ती गरेन । त्यहाँ सुर्तीको पोको राखेको रहेछ । यो के हो ? मैले फेरि सोधें । चोर औंला आफ्नो ओठमा राखेर उसले भन्यो, सुर्ति । तिमी खान्छौ ? मैले साधें ? उसले विना हिचकिचाहट भन्यो, हो के, म खान्छु के । मिठो लाग्छ ? मैले फेरि सोधें ? उसले मेरो सवालको जवाफ दिन आनाकानी गर्यो । फेरि भन्यो, यता आउन । कता ? मैले भने । एकछिन क्या भनेर फेरि मेरो कुममा हात राखेर मलाई आफुतिर तान्यो । मेरो कानैमा मुख ल्याएर भन्यो, मलाई पाँचसय देउ है । अनि मैले उसको मुख तिर हेरें र आँखामा आँखा जुधाएर मायालु स्वरमाभने, के गर्ने पाँच सयले भन त ? उसले मैले मागेको उत्तर दिएन तर भन्यो, हैन के मलाई देउ है पाँचसय ।

उ जति बेला पनि मेरो नजिकै आईरहेको हुन्थ्यो । मुखैमा उसको सास पर्ने गरेर मसंग बोलीरहेको हुन्थ्यो । उसको सासबाट निस्किने चर्काे दारुको गन्धले होला सायद मेरो टाउको दुख्ला जस्तो भईसकेको थियो । माक्स गाडी मै छुटेकाले लाउन पनि पाईन । उसले त झन किन पो लाउथ्यो र ? मलाई कता कता एककिसिमको डर पनि लागिरहेको थियो । कोरोना भाईरस फेरि नयाँ रुप लिएर जुरमुराउन लागेको भन्ने समाचारहरु पनि आईरहेका थिए यतिबेला । तर हामीले माक्स लगाउन भने पातलो नै बनाईसकेका थियौं । माक्स लगाएको कोही देखियो भने काठमाडौबाट आएको हो रहेछ क्यारे भन्ने लाग्थ्यो । यहाँ त कोही कोहीले मात्र यदाकता माक्स लगाएको देखिन्छ । सायद कोरोनाभाइरसलाई हामीले छुट्टी नै गरी सकेका थियौं की ? तर नयाँ ठाँउमा आँउदा माक्स लिएर आउनु पर्ने हो । त्यता तिर ध्यानै गएन । ठाँउ धेरै अब्यवस्थित लाग्यो र पो माक्सको याद आएको हो की?

तिमी रक्सी पिउछौ ? मैले उसलाई सोधें, हैन के …. उसले जवाफ दिन आनाकानी गर्यो । मैले फेरि भनें, तिमीले दारु कहिले खाएको भन त ? उसले भन्न चाहेन । भुईंमा हेरेर चुपचाप उभिई रह्यो । तिम्रो मुखबाट दारुको गन्ध आईरहेको छ नी । नखाएको भए कसरी आउँथ्यो ? उ बोलेन । उ संगै भएको अर्काे साथीलाई सोधें, तिमीले पनि रक्सी खाएका छौ त, दुईजनाले संगै खाएको ? उसलाई पनि मेरो प्रश्नको उत्तर दिन मनासिब लागेन क्यारे । उसले पनि भन्न चाहेन ।

विस्तारै थाह भयो । हिजो उसको बस्तीमा खुशियाली थियो रे । बस्तीमा रमाईलो माहोल थियो । यही कारण बस्तीमा रक्सी र मासुको भोज चल्यो रे रातिको समयमा । सबै जनाले रमाईलो मनाउन रक्सी खाए रे । यही मौकामा उसले पनि सबैसंगै मिलेर खाएको रहेछ । उसलाई भन्न अप्ठ्यारो लाग्यो । मेरो प्रश्नको उत्तर दिन उ हिचकिचाएको थियो । उसलाई पनि थाह रहेछ कि, यो रक्सी खाने भन्ने चीज राम्रो होईन र भन्नु हुँदैन । सायद त्यसैले मसंग साँचो कुरा भन्न गाह्रो मानिरहेको थियो । कति र कस्तो खाले रक्सी खाएछ यसले, जसको गन्ध अहिले पनि यस्तो चर्काे आईरहेको छ ।

मैले उसलाई सोधें, तिम्रो नाम के हो ? गोविन्द । गोविन्द के ? मैले फेरि सोधें ? गोविन्द बहादुर शाही । तिमि के शाही हो, कल्याल कि रास्कोटी ? उसले भन्यो, कल्याल । मेरो बुवा ठूलो मान्छे हो, म ठूलो मान्छेको छोरा हुँ भन्ने दम्भ उसमा झल्किन्थ्यो । उसलाई कुनै कुराको दुःख चिन्ता भएको जस्तो देखिदैन थियो । उसले भनेको हुनै पर्छ भन्ने जिद्धी स्वभाव उसमा झल्किन्थ्यो । भनेजस्तो नहोला जस्तो लाग्यो भने ‘मेरो बुबा को हो ? थाह छ’ भन्ने शब्द उसको मुखबाट निस्किन्थ्यो । अनुहारको भाव बिगाथ्र्याे । निधारमा रिस देखाउँथ्यो । जसरी पनि उसले भनेको हुनै पथ्र्याे । मसंग उसले कि त पाँचसय रुपीयाँ कित चिसापानी भन्ने ठाँउमा नास्ता खान जाने प्रस्ताव राखेको थियो । उ मलाई बारबार त्यही कुरा सम्झाई रहेको पनि थियो । मलाई पनि लाग्यो, यसले यी दुई प्रस्ताव मध्ये एउटा त नगराई छोड्दै छोड्दैन । उसको स्वभाव बुझ्दै जाँदा यो जिद्धी स्वभावको छ भन्ने कुरा थाह पाउन मलाई गाह्रो भएन । किनभने यो कल्याल हो ।

गोविन्दको ठाँउमा उ ठिक ठाक होला । ठूलो बाउको छोरा होला । पुगीसरी आएको होला । उसलाई कुनै चिन्ता नहोला तर मेरालागि त उ नाजुक अबस्थाको लाग्थ्यो । उसको हालत देखेर मेरो मन झन झन भारी हुँदै गईरहेको थियो । पढाईलेखाई गर्न पाएको भए, राम्रो संस्कारमा हुर्किन पाएको भए, राम्रो लाउन पाएको भए, स्वस्थ खान पाएको भए । सभ्य समाजमा हुर्किन पाएको भए आज गोविन्द पनि कुनै घरानियाँको छोरा भन्दा कमको हुने थिएन होला । देशको एउटा असल नागरिक बन्थ्यो होला ।

मैले सोधें, घरमा को को छन् ? उसले खुशी हुँदै भन्यो, आमा, बुवा, बहिनी, भाई र म । बहिनीको विवाह भईसक्यो । अब मेरो पालो हो विहे गर्ने । केटी हेर्यौ त ? मैले सोधें । उसले भन्यो, मैले हेर्र्नै पर्दैन । बुवाले हेरे भईहाल्छ । अनि मैले विहे गर्ने हो । तिमीले विहे गर्ने केटी त तिमीले नै हेर्नु पर्छ नि त । किन नहेरेको । बुवाले हेरेको केटी तिमीलाई मन पर्छ त ? उत्तरमा उसले भन्यो, मलाई मन पर्छ, बुवाले भने पछि । केटी त देखेको छु तर बुवाले भने पछि मात्र हुन्छ, हो की नाई । मेरो बुवा ठूलो हो । उसले भने पछि हुन्छ ।

मलाई उसले बोलीको वीच वीचमा ‘हो के,….. हो की नाई’ भन्ने शब्द बोलेको औधि मन पथ्र्याे । मैले बोलेको उसलाई राम्रो लाग्यो भने ‘हो’ भन्थ्यो । उसले लरवरीएर बोलेको पनि रामै्र सुनिन्थ्यो । सर्लक्क परेको जीउ, काला नानी भएका ठूला–ठूला आँखा, मोटा –मोटा ओठहरु, लामा लामा कानका लोती, सर्लक्क मिलेको नाक, सुडोल हात खुट्टा, बान्की परेको परेली नियालेर हेर्दै जाँदा जीउज्यान राम्रो मिलेको थियो । नुहाई धुवाई गरेर, चट्ट लुगाहरु मिलाएर लगायो भने झन कति राम्रो देखिंदो हो ? मैले मन मनै कल्पना गरें ।

मैले निकै सोची सके पछि उसलाई भने, म एउटा कुरा भन्छु, तिमी मैले भनेको मान्छौ ? उसले प्रति प्रश्न गर्यो, तिमी मैले भनेको मान्छौ कि नाई ? मैले भने पहिला म भन्छु, उसले भन्यो हैन पहिला म भन्छु है । मान्छौ कि नाई ? फेरि कानैमा आफ्नो मुख ल्याएर जोत्यो र भन्यो, मलाई पाँच सय रुपियाँ देउ है ? हुन्छ की नाई ? मैले भने पाँच सयले के गर्छौ ? उसले भन्यो, हैन मलाई पाँच सय चाहिन्छ । देउ है ?

मैले भने, तिमी मैले भनेको मान्छौं ? उ मौन थियो यति बेला । अनि मैले भने, तिमी मेरो घर जान्छौ ? कहाँ हो तिम्रो घर ? उसले सोध्यो । मैले भने यही सुर्खेत बजारमा हो, जान्छौ ? केहिछिन केही सोचे जस्तै गरी उसले भन्यो, कसरी जाने ? मेरो गाडीमा जाने, मैले भने । अनी उसले सोध्यो, कसरी फर्कने त ? गाडी पठाई दिन्छौ ? मैले भने नाई, पठाउँदिन, तिमीलाई उतै राख्ने हो, मेरै घरमा । सधैंको लागि । अनि हामी संगै बस्ने हो । राम्रा राम्रा लुगा लगाउने, मिठो मिठो खानेकुरा खाने, मेरै घरमा बस्ने, गाडीमा घुम्ने, म संगै बस्ने, पढाई लेखाई गर्ने, हुन्छ ? उसले तुरुन्तै असहमति जनायो, नाई, त्यो त हुँदैन । म त्यसरी बस्नु हुँदैन । म त यही बस्नु पर्छ । मेरो कुरालाई माड्दै उसले भन्यो, कि त मलाई पाँच सय रुपीयाँ देउ, कि त भने नास्ता खान जाउँ है । हुन्छ की नाई, हुन्छ कि नाई ? उसले मेरो पाखुरा समातेर हल्लाउँदै सोधी रह्यो ।

मैले भने, अब म घर फर्किनु पर्छ । नत्र अबेला हुन्छ । उसले भन्यो, नास्ता खान जाने हैन ? मैले भने, नाई, नजाने । उसले खिन्न अनुहार पार्दै भन्यो, किन नजाने ? जानु पर्छ भनेको हैन ? हैन भने पाँचसय रुपियाँ दिएर जाउ है । म संग पैसा छैन । सबै सकियो, मैले भने । उसले जिद्धी गर्यो, नाई हुन्न, मलाई चाहिन्छ, दिनै पर्छ । मैले पर्स बोकेकी थिईन । गोजीमा भएको पैसा बाँडेर सकें । उसलाई दिँदा लिनै मानेन । सानो भयो रे । उसलाई पाँचसय नै नभई नहुने रे ।

मैले भनें, तिमी मलाई तल खोलासम्म छोड्न जादैनौं ? उसले सहजै स्वीकार्यो , जान्छु, हिड । तल खोला थियो । स्थानियले त्यस खोलालाई चिङगार भन्दा रहेछन् । त्यही खोलाको किनारमा हामीले गाडी रोकेका थियौं । खोलाको केही माथी थुम्कोमा गोविन्दको घर (छाप्रो) थियो । गुुुजुम्म परेको गाँउको वीचमा उसको घर थियो । गाँउमा न खानेपानीको धारा, न चर्पी, न सरसफाई, न कुनै छाना नबाएका घर । कहाली लाग्दो बस्ती थियो ।

मैले भने पछि गोविन्द मलाई छोड्न तल खोलासम्म जान तयार भयो । उ जसरी पनि म बाट पाँच सय रुपीयाँ झार्ने पक्षमा थियो । मैले पनि सोचें, अति गरेको छ, यसलाई पाँचसय त दिनै पर्छ । तर यो पैसाले उसले रक्सी नै खान्छ भन्ने पनि मलाई एकिन भईसकेको थियो । हुँदा हुँदै पनि मैले पैसा नदिएर उसको मन दुःखाउन चाहिन । उसको हातमा पाँचसय रुपीयाँ पर्दाको खुशीको मैले अनुमान गरें । मैले उसलाई पाँचसय नदिंदा उसले उनुभव गर्ने दुःखको पनि मैले सजिलै अनुमान गरें । मैले साचें, एक दिन मैले रोकेर के नै हुने हो र ? मैले आज यसलाई दुःखी देख्नु भन्दा पनि खुशी देख्नु नै उचीत ठानें । अनी मैले फेरि आफुलाई खोलासम्म पुर्याउने प्रस्ताव राखें । तर उसलाई भने पाँच सय दिन्छु भन्ने बचन गरीसकेकी थिंईन । हामी तल झर्यौं । गोविन्द पनि हामीसंगै तल ओर्लियो । खोला तर्यौं, उ पनि हामीसंगै तर्यो ।

खोला तरिसकेपछि मैले उसको पाखुरा समातेर भनें, म संग जाँउ है त ? उसले ईन्कार गर्यो र उत्तरमा उसले भन्यो, जाने बेलामा पाँचसय रुपीयाँ दिएर जाउ है । मैले भने साँच्चै भन त तिमी पाँच सय रुपीयाँले के गर्छौ ? उसले मेरो प्रश्नको उत्तर दिदै दिएन । मैले गाडीको ढोका खोलें र उसलाई गाडीको सिटमा बस्न भने । उसले बस्न मानेन । मैले कर गरें । नास्ता खान जाने भनेको होईन ? हिड जाँउ । उसले थाह पाईहाल्यो कि यसले नास्ता खाना लिन्न । त्यसैले गाडीमा बस्न मानीरहेको थिएन । मैले गाडीबाट ब्याग निकाले र त्यहाँबाट पाँचसयको नोट झिके । उसको मुहारमा पाँचसयको नोट देखेर एक्कासी परीबर्तन आयो । मैले पाँचसयको नोट उ तिर देखाँउदै भने, यो कति रुपीयाँ हो ? उसले भन्यो, पाँचसय । साँच्चै लिने त ? अँ लिने । मैले पाँचसय उसलाई दिएं र विदा गरें । तर उसलाई देखुन्जेल फर्कि फर्कि हेर्न मन लाग्यो र हेरी पनि रहें ।

उ खोला तरेर उकालो उक्लँदै थियो । मेरो गाडी उसलाई ओझेल पार्दै अगाडी बढ्यो । उसको अबस्था र ब्यवहार देखेर दया र माया दुबै एकै चोटी पलायो । साथै यो सृष्टीकर्तासंग रिस पनि उठेर आयो । किन आफ्नै सन्तानहरु पनि फरक फरक बनाएको होला । गोविन्दको कहाली लाग्दो अबस्था देखेर मलाई पिडा बोध भयो । उही आँखाबाट फरक फरक आँसु झारीरहें । आखिर म त्यो राउटे हिरोलाई के नै गर्न सक्थें र । गर्न खोजे पनि उसको राउटे नियमले मलाई गर्न दिदैन थ्यो । हिजो पैसा छोए पापलाग्छ भन्ने समुदायको मान्छे आज पैसा माग्छ । हिजो मदिरा खानुहुँदैन भन्ने समुदाय मदिरामा लिप्त छ । उसले उसकै संस्कार भुल्यो तर हाम्रो संस्कार पनि अपनाउन पाएको छैन । संविधानमा लेखिएका मौलिक हकहरु उसले प्रयोग गर्न पाएको छैन । उसको मायालु अनुहारले मलाई पल पल झस्काई रह्यो ।

(लेखक, कर्णाली प्रदेश लोकसेवा आयोगको सदस्य हुन् ।)